मेलबर्नमा १२ वर्षपछि लेबरको सत्ता गुम्यो, ३६ वर्षीया जेस विल्सन नयाँ प्रिमियर

मेलबर्नमा १२ वर्षपछि लेबरको सत्ता गुम्यो, ३६ वर्षीया जेस विल्सन नयाँ प्रिमियर

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले जित हासिल गरेसँगै १२ वर्षदेखि कायम लेबर पार्टीको शासन अन्त्य भएको छ । शनिबार सम्पन्न निर्वाचनपछि ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नयाँ प्रिमियर बन्ने भएकी छन् ।

सन् २०१४, २०१८ र २०२२ को निर्वाचन जित्दै लगातार तीन कार्यकाल सरकार चलाएको लेबर पार्टी अब विपक्षमा पुग्ने भएको छ । सन् २०१० मा एक कार्यकाल सरकार चलाएको लिबरल–नेसनल गठबन्धन १२ वर्षपछि पुनः सत्तामा फर्किएको हो ।

विल्सन भिक्टोरियाको ५१औँ प्रिमियर बन्नेछिन् । ३६ वर्षको उमेरमा राज्यको सर्वोच्च कार्यकारी पदमा पुग्न लागेकी उनी भिक्टोरियाको इतिहासकै सबैभन्दा कम उमेरकी प्रिमियर बन्ने भएकी छन् । साथै, अस्ट्रेलियाली महासंघ स्थापना भएयताकै कम उमेरमा राज्यको नेतृत्व गर्ने नेताका रूपमा पनि उनको नाम दर्ज हुने भएको छ ।

निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा लेबर पार्टीका नेता तथा वर्तमान प्रिमियर बेन क्यारोलले पराजय स्वीकार गरेका छन् । उनले विल्सनलाई फोन गरेर बधाई दिँदै सत्ता हस्तान्तरणको बाटो खुला गरेका हुन् ।

क्यारोलका लागि निर्वाचन परिणाम व्यक्तिगत रूपमा पनि निराशाजनक बनेको छ । उनी आफ्नै निर्वाचन क्षेत्र निड्रीबाट पराजित भएका छन् । करिब ५० वर्षदेखि लेबर पार्टीको प्रभाव रहेको उक्त क्षेत्रमा उनको हारलाई पार्टीका लागि थप चुनौतीका रूपमा हेरिएको छ । पदमा बहाल रहँदै आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुने उनी भिक्टोरियाका पहिलो प्रिमियर बनेका छन् ।

पराजयपछि प्रतिक्रिया दिँदै क्यारोलले निर्वाचन परिणामको जिम्मेवारी आफूले लिने बताएका छन् । मतदाताले नेतृत्व परिवर्तनको चाहना व्यक्त गरेको स्वीकार गर्दै उनले आगामी चार वर्ष विपक्षमा रहेर जनताको विश्वास पुनः हासिल गर्ने प्रयास गर्ने बताएका छन् ।

यस परिणामसँगै १२ वर्षसम्म विपक्षमा रहेको लिबरल–नेसनल गठबन्धन अब जेस विल्सनको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियामा अघि बढ्नेछ । यसले भिक्टोरियाको राजनीतिमा नयाँ अध्याय सुरु गरेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!