काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणमा सीमासम्बन्धी विषय नउठेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा सीमाका विषयमा वर्तमान प्रधानमन्त्रीले प्रस्तुत गरेको दृष्टिकोणलाई कांग्रेसले अपरिपक्व र उत्तेजक टिप्पणीका रूपमा व्याख्या गरेको हो ।
विगतमा लोकप्रियता हासिल गर्न मात्रै सीमाका विषय उठाइएको र त्यो नक्कली राष्ट्रवाद भएको आरोप लगाउँदै कांग्रेस महामन्त्री प्रदीप पौडेलले कूटनीतिक संवादमार्फत ती विषयलाई निर्णायक रूपमा उठाउने अवसर हुँदासमेत छलफलमा प्रवेश नगराई फर्कनुले प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गो पारेको बताए ।
उनले कथनी र करणीबीचको विरोधाभासले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वता उजागर गरेको कांग्रेसको ठहर रहेको उल्लेख गरे ।
भ्रमणअघि कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले भ्रमणको पूर्ण सफलताको शुभकामना व्यक्त गरेको स्मरण गराउँदै महामन्त्री पौडेलले भारतीय पक्षबाट नेपाली प्रधानमन्त्रीले पाएको आत्मीय स्वागत र राजकीय सम्मान दुई देशबीचको प्रगाढ ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धको प्रतिबिम्ब भएको धारणा राखे ।
भ्रमणका क्रममा उच्चस्तरीय संवादको वातावरण बन्नु, महत्त्वपूर्ण सहमति जुट्नु र विगतका सहकार्यले निरन्तरता पाउनु सकारात्मक भए पनि सीमाजस्ता संवेदनशील विषयले उच्चस्तरीय वार्तामा अपेक्षित प्राथमिकता नपाएको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ ।
मङ्सिर ८ देखि ११ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिको बैठकका निर्णय शनिबार सार्वजनिक गर्दै कांग्रेसले भ्रमणका क्रममा भएका सहमतिमध्ये भैरहवा हवाई मार्ग ‘बी ३४५’ लाई दुईतर्फी सञ्चालन गर्ने सहमतिलाई स्वागतयोग्य उपलब्धि मानेको छ ।
नेपालको पर्यटन तथा समग्र आर्थिक विकाससँग जोडिएका विराटनगर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै थप हवाई प्रवेश मार्ग प्राप्त गर्नुपर्ने विषय आफूहरूले सन् २०१४ देखि नै निरन्तर उठाउँदै आएको कांग्रेसले जनाएको छ ।
यसैगरी, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा जस्तै यसपटक भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माण, प्रभावित नागरिकको पुनर्स्थापना, ऊर्जा तथा नयाँ पूर्वाधार विकासका लागि भारत सरकारले घोषणा गरेको कुल २४० अर्ब नेपाली रुपैयाँ (१५० अर्ब भारु) बराबरको विकास सहयोग प्याकेजलाई कांग्रेसले वर्तमान आवश्यकताका दृष्टिले महत्त्वपूर्ण मानेको छ ।
कुल सहयोगमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) रहेको भन्दै कांग्रेसले भारत सरकारलाई धन्यवादसमेत दिएको छ ।
त्यस्तै, ऊर्जा तथा सम्पर्क सञ्जाल (कनेक्टिभिटी) क्षेत्रमा हुँदै आएको सहकार्यका अतिरिक्त सन् २०२५ मा सुरु भएको आईआईटी मद्राससँगको सहकार्यलाई निरन्तरता दिँदै नेपालमा आईआईटी क्याम्पस स्थापना, स्टार्टअप नवप्रवर्तन, खेलकुद तथा जलवायु उत्थानशीलता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई पनि कांग्रेसले स्वागत गरेको छ ।
विगतमा गरिएका कतिपय सहमति कार्यान्वयन नभई अलपत्र परेको स्मरण गराउँदै दलले यसपटकका सहमति कार्यान्वयनका लागि निरन्तर निगरानी राख्ने स्पष्ट पारेको छ ।
भैरहवा हवाई मार्गका सम्बन्धमा नीतिगत सहमति जुटे पनि वास्तविक रूपमा दुईतर्फी उडान सञ्चालन गर्न आवश्यक प्राविधिक तथा सञ्चालनसम्बन्धी विषय अझै टुंगिन बाँकी रहेको उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने आधार सुनिश्चित गर्न तथा बाँकी हवाई मार्ग प्राप्तिका लागि पहल थाल्न पनि सरकारलाई सुझाइएको छ ।
भारतले घोषणा गरेको ठूलो रकमको विकास सहायता परिचालन राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा पारदर्शी एवं परिणाममुखी हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ । अनुदान रकम खर्चिने क्षेत्र, सहुलियतपूर्ण ऋणका सर्त, परिचालन गरिने परियोजना, लगानीको उचित प्रतिफल (भ्यालु अफ मनी) सुनिश्चितता तथा सार्वजनिक ऋणको दिगोपनाका विषयमा सरकारले संसद् र आम नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने माग राखिएको छ ।
शिक्षा, प्रविधि र जलवायु उत्थानशीलताका समझदारीलाई घोषणामा मात्र सीमित नराखी ठोस कार्यक्रम र समयसीमासहित कार्यान्वयनमा लैजानुपर्ने महामन्त्री पौडेलले बताए ।