काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी श्रीमतीले दिएको उजुरीमा उल्लेखित विषयबारे वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाउँदै उनले कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छाडिदिने र बयान नदिए फसाइदिने भन्दै दबाब दिइएको भन्ने उजुरीमा उल्लेखित दाबीबारे स्पष्ट पार्न आग्रह गरेका हुन् ।
मानवअधिकार आयोगमा दिइएको उक्त उजुरी झुटो हो वा राज्यकै आडमा एकपछि अर्को अपराधका योजना बनिरहेका छन् भन्ने प्रश्न शर्माले उठाएका छन् । पारदर्शितालाई लोकतन्त्रको आधारभूत खम्बा उल्लेख गर्दै उनले इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा नहेरी यससँग जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने नागरिकको अधिकार सुरक्षित हुनुपर्ने बताएका छन् ।
षड्यन्त्रका तह क्रमशः खुल्दै गएको दाबी गर्दै शर्माले अब पर्दा पूरै च्यातिनुपर्ने धारणा राखेका छन् । प्रकरणको वास्तविकता जे भए पनि त्यसबारे निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिनुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापालगायत शीर्ष नेता, व्यवसायी र पूर्वप्रधानन्यायाधीशविरुद्ध झुटा बयान दिन दबाब दिँदै शारीरिक तथा मानसिक यातना दिइएको दाबीसहित इनम सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका छन् ।
आफू र आफ्नो परिवारको जीवन रक्षाको माग गर्दै सापकोटाले आफ्नी श्रीमती कविता पाण्डे (सापकोटा) मार्फत आयोगमा उजुरी दिएका हुन् ।
