कांग्रेसले ११ महिला सदस्य केन्द्रीय समितिमा मनोनीत गरेको जानकारी आयोगलाई गरायो

कांग्रेसले ११ महिला सदस्य केन्द्रीय समितिमा मनोनीत गरेको जानकारी आयोगलाई गरायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा ११ जना महिला सदस्य मनोनीत गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

केन्द्रीय समितिमा एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्न ११ जना मनोनीत गरिएको सूचीसहित आयोगलाई जानकारी गराइएको हो । २३१ सदस्यीय निर्वाचित केन्द्रीय समितिमा महिला सदस्यको संख्या एक तिहाइ पुर्‍याउन ११ जना अपुग भएपछि मनोनयन गरिएको जनाइएको छ ।

महाधिवेशनमा प्रतिस्पर्धा नगरेका ११ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । मनोनीत हुनेमा सुजाता कोइराला, ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोखाललगायत रहेका छन् । बाँकी पाँच जनाको नाम भने सार्वजनिक गरिएको छैन ।

कोइरालालाई विशेष महाधिवेशनपछि पनि मनोनीत केन्द्रीय सदस्य बनाइएको थियो । १५औँ महाधिवेशनको समयमा संस्थापन पक्षतर्फ लागेकी न्यौपानेले सभापतिको आग्रहअनुसार महाधिवेशनमा उम्मेदवारी नदिएको त्यसबेला सामाजिक सञ्जालमार्फत बताएकी थिइन् ।

त्यस्तै, विशेष महाधिवेशनपछि चौधरी पनि संस्थापन पक्षमा लागेकी थिइन् ।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!