काठमाडौँ । उपत्यका बाहिर जाने दिवा तथा रात्रिकालीन बस र माइक्रोबस अनिवार्य रूपमा गोंगबुस्थित नयाँ बसपार्कबाटै छुट्नुपर्ने नियमको कार्यान्वयन फितलो देखिएको छ । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो व्यवस्था लागू गरे पनि लामो तथा मध्यम दूरीका सवारीसाधनले जथाभावी यात्रु चढाउने र ओराल्ने क्रम रोकिएको छैन ।
कोटेश्वर, बल्खु र कलङ्की क्षेत्रमा दिउँसो २ बजेदेखि नै उपत्यका बाहिरका विभिन्न सहरमा जाने रात्रिकालीन बसको ताँती देखिने गरेको छ । पश्चिम नेपालका लागि जाने लामो दूरीका बस तुलनात्मक रूपमा बसपार्कबाटै छुट्ने गरे पनि पूर्वतर्फ जाने बस तथा माइक्रोबसले कोटेश्वरका सडकलाई नै बसपार्क बनाएको देखिन्छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार पश्चिमतर्फ जाने लामो तथा मध्यम दूरीका सवारीसाधन बसपार्कबाटै छुट्ने गरेका छन् । तर, पूर्वतर्फ जाने सवारीसाधनले बनेपासम्मको रुट परमिट लिने भएकाले नियम कार्यान्वयनमा चुनौती देखिएको उनले बताए ।
‘पूर्वतिर जाने गाडीहरूको रुट परमिट बनेपासम्म भएकाले ती गाडीहरू अनिवार्य रूपमा बनेपा नै पुग्नुपर्छ । जुन ठाउँको परमिट लिएको हो, त्यहीँ नाइट स्ट्यान्ड गरेर यात्रु लिएर हिँड्नुपर्छ भन्नेमा हामीले कडाइ गरेका छौँ,’ सुवेदीले भने ।
उनका अनुसार कोटेश्वरबाट जथाभावी गाडी छुट्नेभन्दा पनि केही गाडी बनेपाबाट र केही नयाँ बसपार्कबाटै सञ्चालन भइरहेका छन् । नियमविपरीत कोटेश्वर वा अन्य स्थानबाट यात्रु चढाएको पाइए निगरानी गरी कारबाही गर्ने काम भइरहेको उनले बताए । यस विषयमा यातायात व्यवसायीहरूसँग पनि समन्वय भइरहेको छ ।
ट्राफिक प्रहरीले नियममा कडाइ गर्ने बताए पनि सवारीचालकहरूले बसपार्कभित्र गाडी राख्दा शुल्क महँगो पर्ने गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
बसपार्क व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन समिति रहेकाले शुल्कसम्बन्धी गुनासो आफूहरूसमक्ष प्रत्यक्ष नआएको एसपी सुवेदीले बताए । चालकहरूबाट त्यस्तो गुनासो आएको भए व्यवस्थापन समितिसँग समन्वय गरी समाधानका उपायबारे छलफल गरिने उनले बताए ।
यसैबीच, काठमाडौँ महानगरपालिकाले पनि सम्भावित विकल्पहरूको अध्ययन गर्दै नियम पालनामा थप कडाइ गर्ने तयारी गरिरहेको छ ।