काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई थप दुई दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।
मलेसिया जाने कामदारसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्कका नाममा म्याक्रोटेक प्रालिले रकम असुलेको आरोप छ । मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर कामदारबाट असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको अनुसन्धानमा खुलेको छ । ती निर्णय तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौँका ३६ वटा मेडिकललाई तोकिएको थियो ।
यस प्रकरणमा पहिलो चरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका थिए ।
मङ्सिर २ गते पूर्वमन्त्रीसहित थप ६ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ रहेका छन् ।
आरोपीहरूमाथि सीआईबीले ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ । अनुसन्धानका अनुसार २०७५ सालको अन्त्यतिरदेखि आरोपीहरूले मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट असुल गरेका थिए । तत्कालीन विनिमय दरअनुसार उक्त रकम नेपाली ३ हजार १६० रुपैयाँ बराबर थियो ।