काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका अधिवेशन हुँदैछ। पार्टीको निर्धारित कार्यतालिकाअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा अधिवेशन हुन लागेको हो।
वडा अधिवेशनको चरणपछि कांग्रेसको महाधिवेशन प्रक्रिया पालिका तहमा प्रवेश गरेको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार अधिकांश स्थानमा वडा तहको नेतृत्व चयन प्रक्रिया सम्पन्न भइसकेको छ।
प्राकृतिक विपद्का कारण प्रभावित केही स्थानमा भने स्थानीय अवस्था हेरेर अधिवेशनको मिति निर्धारण गरिएको छ। विशेषगरी रसुवामा बाढीपहिरोबाट भएको क्षतिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक स्थानीय तहमा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान छ।
पालिका कार्यसमितिलाई थप समावेशी बनाउन विधानमा मनोनयनको व्यवस्थासमेत गरिएको छ। जसअनुसार गाउँ कार्यसमितिमा सात, नगर कार्यसमितिमा नौ, उपमहानगर कार्यसमितिमा ११ र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था रहेको छ।
मनोनयन गर्दा प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका विभिन्न क्लस्टर तथा समुदायलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।
कांग्रेसको संशोधित निर्वाचन कार्यतालिकाअनुसार पालिका अधिवेशनपछि प्रदेशसभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय, जिल्ला र प्रदेश तहका अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ।


