काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र सरकारले गरेका कामबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने भएका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले विद्युत् पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका हुन्।
बाढीका कारण एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षतिसमेत भएको छ। घटनापछि ऊर्जा मन्त्रालयले उद्धार, राहत तथा विद्युत् पूर्वाधारको पुनर्स्थापना र पुनर्निर्माणका लागि गरेका काम तथा आगामी कार्ययोजनाबारे मन्त्री श्रेष्ठले संसद्लाई जानकारी गराउने उनका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए।
महर्जनका अनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समयसमेत लिइसकेका छन्।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ।


