काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। संघीय संसद्को आधिकारिक विवरणअनुसार असोज ७ गते प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ।
बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसअघिको प्रतिनिधिसभा बैठक असोज ६ गते बसेको थियो। उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयकसम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबुल गरिएको थियो।


