काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले परम्परागत संसदीय राजनीतिको दृष्टिकोणबाट हेर्दा सरकारका पहिलो १०० दिनमा उल्लेखनीय उपलब्धि नदेखिए पनि पुरानो शासकीय शैली परिवर्तन गर्ने प्रारम्भिक प्रयासका रूपमा यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।
उनले सरकारको ‘हनिमुन पिरियड’ मानिने पहिलो १०० दिन पूरा भएको अवसरमा विभिन्न व्यक्ति र समूहले आ–आफ्नो दृष्टिकोणअनुसार फरक–फरक मूल्यांकन गर्नु स्वाभाविक भएको उल्लेख गरेका छन्।
यस क्रममा उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने उक्ति स्मरण गर्दै सरकारप्रतिको धारणा हेर्ने दृष्टिकोणअनुसार फरक हुन सक्ने बताएका छन्।
डा. भट्टराईका अनुसार पुरानै संसदीय राजनीतिको निरन्तरता खोज्नेहरूका लागि सरकारका यी सय दिन उपलब्धिमूलक नलाग्न सक्छन्। स्थापित राजनीतिक शक्ति र शासकीय शैलीमा परिवर्तनको संकेत देखिएपछि केही पुराना राजनीतिक शक्तिमा आशंका र असहजता उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ।
तर, पुस्तान्तरण, नयाँ नेतृत्वको उदय र परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीको सन्दर्भमा हेर्दा सरकारले नयाँ शासकीय अभ्यासको प्रारम्भिक प्रयास गरेको रूपमा मूल्यांकन गर्नुपर्ने उनले बताएका छन्।
उनले सरकारलाई अहिले नै असफल घोषणा गर्नुभन्दा केही समय ‘शंकाको लाभ’ (Benefit of the doubt) दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
नेपालको जटिल भूराजनीतिक अवस्था, वैदेशिक परनिर्भर अर्थतन्त्र र तीव्र आर्थिक–सामाजिक रूपान्तरणको आवश्यकतालाई उल्लेख गर्दै उनले सरकारका पहिलो १०० दिनलाई मुख्यतः सिकाइको चरणका रूपमा लिनुपर्ने सुझाव दिएका छन्।
साथै, प्रारम्भिक अनुभव र कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा सरकार थप गम्भीरता, कडा मेहनत र स्पष्ट विकास रणनीतिसहित अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।


