काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत रास्वपा स्थापना हुनुको कारण, उद्देश्य र चार वर्षको राजनीतिक यात्राबारे विस्तृत समीक्षा गरेका छन्।
‘चार वर्षमा शून्यबाट सिंहदरबारसम्म’ शीर्षकको प्रतिवेदनमा लामिछानेले आफूहरू राजनीतिमा प्रवेश गर्नुको मूल कारण नै पार्टीको मार्गदर्शक सिद्धान्त बनेको बताएका छन्।
उनका अनुसार रास्वपा स्थापना गर्ने अधिकांश व्यक्तिहरू परम्परागत राजनीतिक पृष्ठभूमिबाट आएका थिएनन्। उनीहरू सञ्चार, पेसागत क्षेत्र तथा समाजका विभिन्न तहमा सक्रिय रहँदै राज्यलाई प्रश्न गर्ने र सुधारका लागि दबाब सिर्जना गर्ने प्रयासमा संलग्न थिए।
तर समयसँगै राज्य संयन्त्रले नागरिकका आवाज सुन्न नचाहेको वा सुन्न नसक्ने अवस्था देखिएपछि परिवर्तनका लागि प्रणालीभित्रै प्रवेश गर्नुपर्ने आवश्यकता महसुस भएको प्रतिवेदनमा उल्लेख छ। सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, जवाफदेहिताको अभाव, अवसरवाद र बिचौलियाको प्रभावले लोकतन्त्र कमजोर बनेको दाबी पनि प्रतिवेदनमा गरिएको छ।
लामिछानेले लोकतन्त्रलाई ‘नेतातन्त्रले चपाइरहेको’ र नेतातन्त्रलाई ‘बिचौलियाले नचाइरहेको’ टिप्पणी गर्दै रास्वपाले प्रणाली सुधार, पुनःसंरचना र शुद्धीकरणको लक्ष्यसहित राजनीतिक यात्रा सुरु गरेको बताएका छन्।
प्रतिवेदनमा ‘नयाँ शक्ति’ र ‘विवेकशील’ अभियानहरूले राजनीतिमा तरंग ल्याए पनि संरचनागत परिवर्तन गर्न नसकेको उल्लेख गरिएको छ। यद्यपि बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि परम्परागत दलहरूप्रतिको जनअसन्तुष्टि स्पष्ट रूपमा देखिएको र वैकल्पिक राजनीतिक शक्तिका लागि जनमत तयार भएको निष्कर्ष प्रस्तुत गरिएको छ।
रास्वपा स्थापना प्रक्रियामा ठूलो अविश्वास, आलोचना र उपहासको सामना गर्नुपरेको स्मरण गर्दै लामिछानेले सदस्य बन्न त परको कुरा, नेतृत्व लिनसमेत धेरै व्यक्ति तयार नभएको बताएका छन्। स्थापित राजनीतिक दलहरूलाई ‘अपराजेय पहाड’ का रूपमा प्रस्तुत गरिए पनि आफूहरूले ती संरचनाहरू जनविश्वास गुमाइसकेका शक्तिका रूपमा देखेको उनको भनाइ छ।
प्रतिवेदनमा जनतामा परिवर्तनको चाहना बलियो रहे पनि समाजका प्रभावशाली व्यक्ति, बुद्धिजीवी, सञ्चारकर्मी तथा चर्चित व्यक्तिहरू वैकल्पिक राजनीतिक अभियानप्रति सुरुआती चरणमा सकारात्मक नरहेको उल्लेख गरिएको छ।
‘जनता तयार थियो, जान्ने–सुन्ने मानिएकाहरू तयार थिएनन्,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
पूर्ण पाठ
ऐितहािसक-पिहलो-महािधवेशन-असार-७-९…भापि…व-लािमछानेको-राजनीितक-प्रतिवेदन-तथा-प्रस्ताव


