Sunday, June 21, 2026
Homeराजनीतिरास्वपाको प्रथम महाधिवेशन आजदेखि, नयाँ नेतृत्व र विधान संशोधनमा केन्द्रित

रास्वपाको प्रथम महाधिवेशन आजदेखि, नयाँ नेतृत्व र विधान संशोधनमा केन्द्रित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।

पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनका लागि आवश्यक व्यवस्थापनका अधिकांश काम पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको छ भने आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनको तयारी पनि सकिएको छ।

महाधिवेशनलाई प्रभावकारी बनाउन रास्वपाले १८ वटा उपसमिति गठन गरेको थियो। राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेका छन् भने केन्द्रीय समितिको बैठकले महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव अनुमोदन गरिसकेको छ।

विधान संशोधन प्रस्तावअनुसार पार्टीको केन्द्रीय समिति १२१ सदस्यीयबाट १५१ सदस्यीय बनाइने भएको छ। साथै, पदाधिकारी तहमा महिला सहभागिता अनिवार्य गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। संशोधित संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन्।

पार्टीले १५१ केन्द्रीय सदस्यमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट र ५१ जना सभापतिद्वारा मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरेको छ। मनोनयनमार्फत चयन हुने सदस्यहरू समावेशिताका आधारमा छनोट गरिने जनाइएको छ।

महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने बताइएको छ। साथै, आगामी राजनीतिक रणनीति र नयाँ नेतृत्व चयन पनि महाधिवेशनका प्रमुख एजेन्डा रहनेछन्।

रास्वपाका अनुसार महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। पार्टीले हालसम्म पाँच लाख सदस्य पुर्‍याएको दाबी गरेको छ। साथै, ६१० पालिका र ४,०६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न भइसकेको जनाएको छ।

पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार तथा भावी कार्यदिशा तय हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका