काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि छलफल सुरु हुने तथा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ।
आजको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेरसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
बैठकमा युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट शीर्षकमाथि समूहगत छलफल हुने कार्यक्रम छ।
बजेटमाथिको छलफलसँगै पाँच जना सांसदले विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि खर्च कटौतीका प्रस्ताव पेस गर्नेछन्। सांसद कृपाराम रानाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको खर्च रकम घटाएर ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी सांसद नीता घतानीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सांसद अर्जुनकुमार कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च रकम ‘एक रुपैयाँ’ मा सीमित गर्ने प्रस्ताव संसद्मा पेस गर्ने कार्यसूची छ।
यस्तै, सांसद साजिदा खातुन सिद्धिकीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा खर्च कटौतीको प्रस्ताव ल्याउनेछिन्। सांसद एशुदाकुमारी बरालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको खर्च रकम घटाएर ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संसद्मा बजेटमाथिको छलफलसँगै खर्च कटौती प्रस्तावहरू प्रस्तुत हुने भएकाले आजको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।


