काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक वैदेशिक भ्रमणका रूपमा हुने भारत भ्रमणको तयारी सरकारले तीव्र बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाह प्रधानमन्त्री निर्वाचित भएपछि दिएको बधाई सन्देशसँगै भारत भ्रमणको निम्तो दिएका थिए ।
उक्त निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री शाहले उपयुक्त समयमा भारत भ्रमण गर्ने जनाएका थिए । सोहीअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको तयारीलाई गति दिएको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भ्रमणलाई केवल शिष्टाचारमा सीमित नराखी ‘नतिजामुखी’ बनाउने सरकारको योजना छ । भ्रमणका क्रममा नेपालको जलविद्युत् भारतीय बजारमा सहज पहुँच दिलाउने तथा बंगलादेशसँगको त्रिदेशीय विद्युत् व्यापारका लागि ठोस खाका तयार पार्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ ।
यसैगरी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतसँग निर्णायक वार्ता गर्ने तयारी गरिएको छ ।
सन् १९५० को सन्धि र ईपीजी प्रतिवेदनबारे नेपालको स्पष्ट अडान राख्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई ‘रिसेट’ गर्ने प्रधानमन्त्री शाहको मुख्य एजेन्डा रहेको बताइएको छ ।
भ्रमणको मिति तय गर्नुअघि दुवै देशका सचिवस्तरीय संयन्त्रहरूबीच एजेन्डामा सहमति जुटाइनेछ । परराष्ट्र मन्त्रालयका अनुसार आगामी महिनाभित्रै भ्रमण सम्पन्न गर्ने तयारी भइरहेको छ ।
परम्परागत राजनीतिक पृष्ठभूमिभन्दा फरक छवि बनाएका प्रधानमन्त्री शाहका लागि यो भ्रमण औपचारिक भेटघाटमा सीमित नरही नेपालको राष्ट्रिय हितलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । साथै, भ्रमणका क्रममा विश्वासको वातावरण निर्माणलाई पहिलो प्राथमिकता दिइने बताइएको छ ।
विगतमा देखिएका कूटनीतिक चिसोपन र आपसी आशंकालाई चिर्दै नेपाललाई एक भरपर्दो र गतिशील छिमेकीका रूपमा प्रस्तुत गर्नु प्रधानमन्त्री शाहको प्रमुख जिम्मेवारी रहनेछ ।


