Saturday, April 11, 2026
Homeअर्थ र ब्यापारबागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि लागू, उपत्यकामा करिब २६ प्रतिशत बढ्यो

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि लागू, उपत्यकामा करिब २६ प्रतिशत बढ्यो

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरिएको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको भाडा राजपत्रमा सूचना प्रकाशनसँगै कार्यान्वयनमा आएको हो।

प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८ तथा बजार मूल्यको उतारचढावलाई आधार मानेर २०८० भदौ ७ देखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ। पेट्रोलियमबाट सञ्चालन हुने ट्याक्सीमा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत तथा मालवाहक सवारीमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ।

विद्युतीय सवारी साधन तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ। ती सवारीमा २०७९ वैशाख १ देखि लागू दर नै कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ।

भाडा समायोजनअघि सरोकारवाला पक्षसँग छलफल गरिएको थियो। व्यवसायीहरूले इन्धन मूल्य वृद्धि, सञ्चालन खर्च बढेको तथा ढुवानी क्षेत्रमा परेको दबाबका कारण भाडा समायोजन आवश्यक भएको बताएका थिए।

सरकारले बढ्दो इन्धन मूल्य, सञ्चालन लागत र व्यवसायीको मागलाई ध्यानमा राख्दै भाडादर समायोजन गरिएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका