काठमाडौं, २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भइरहेको उतारचढावलाई कारण देखाउँदै निगमले नयाँ दर लागू गरेको हो।
निगमका अनुसार आज (चैत २७) राति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको हो। सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँले मूल्यवृद्धि गरिएको छ।
यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ भने हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल २०७ रुपैयाँ पुगेको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०१० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको भए पनि निगमको घाटा कम नभएको जनाउँदै मूल्य बढाउनुपरेको बताइएको छ। निगमका अनुसार हाल पनि पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको छ।


