काठमाडौँ । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचन अवधिमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले Indian Oil Corporation (आईओसी) बाट उच्च दरमा ग्यास लोडिङ गरिरहेको जनाएको छ।
निगमका अनुसार मंगलबार यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास आयात गरिएको छ। एकै दिन १३८ बुलेट ग्यास लोड भएको जानकारी दिँदै निगमले उक्त परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुने जनाएको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचनको समयमा पनि ग्यास आपूर्ति नियमित रहने स्पष्ट पार्दै उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन्। कृत्रिम अभाव सिर्जना हुन नदिन भण्डारण र वितरण प्रणालीलाई चुस्त राखिएको निगमले जनाएको छ।


