Sunday, June 21, 2026
Homeराजनीतिएक महिनाभित्र ओली सरकार ढल्दैछ: ‘रअ’ का पूर्व एजेन्ट

एक महिनाभित्र ओली सरकार ढल्दैछ: ‘रअ’ का पूर्व एजेन्ट

काठमाडौँ: भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्ट (लक्की विष्ट)ले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने भविष्यवाणी गरेका छन्।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सलाई दिएको एक अन्तरवार्तामा उनले आगामी १५ दिनदेखि एक महिनाभित्र ओली सरकार गिराउन ‘एजेन्सीले काम गरिरहेको’ दाबी गरेका छन्। उक्त अन्तरवार्ता युट्युबमा समेत सार्वजनिक भएको छ, जहाँ उनले थप रोचक खुलासा गरेका छन्।

“तपाईंलाई अचम्म लाग्ला, केही दिनभित्रै तपाईंले अर्को ठूलो समाचार सुन्नुहुनेछ। नेपाल सरकार ढल्नेवाला छ,” विष्टले आत्मविश्वासपूर्ण तरिकाले भनेका छन्। तर, सरकार ढल्ने ठोस आधार भने उनले प्रस्तुत गरेका छैनन्।

नेपाल: गुप्तचरहरूको ‘खेल मैदान’

विष्टले आफ्नो गुप्तचर यात्रामा नेपाललाई विशेष रूपमा खतरनाक क्षेत्रका रूपमा वर्णन गरेका छन्। उनका अनुसार नेपाल विश्वभरका गुप्तचर एजेन्सीहरूको ‘खेल मैदान’ बनेको छ। “नेपालमा काम गर्न जति गाह्रो अरू देशमा कहिल्यै लागेन,” उनले भने।

उनले ‘रअ’मा कार्यरत रहँदा थुप्रै अन्तर्राष्ट्रिय मिसनहरू सफलतापूर्वक सम्पन्न गरेको दाबी पनि गरेका छन्। नेपालमा आफ्नो क्रियाकलापबारे चर्चा गर्दै उनले नक्कली भारतीय नोट कारोबार रोक्न र ठूलो गिरोहलाई समात्न निर्णायक भूमिका खेलेको उल्लेख गरेका छन्।

ओली सरकारमाथि आशंका

पूर्व गुप्तचर विष्टले ओली नेतृत्वको सरकारबारे आफ्नो धारणा स्पष्ट गरेका छैनन्, तर उनले सरकार ढल्ने संकेतलाई अत्यन्तै गम्भीर रूपमा प्रस्तुत गरेका छन्। विष्टले भनेका छन्, “एजेन्सीले आफ्नो काम गरिरहेको छ। केही समयभित्रै परिणाम देखिनेछ।”

उनको यो दाबीले भारत र नेपालबीचको सम्बन्ध, नेपालभित्रको गुप्तचर गतिविधि, र गुप्तचर संस्थाहरूको प्रभावबारे थप बहस निम्त्याउने संकेत गरेको छ।

गुप्तचर विश्वका विवादास्पद पात्र

लक्की विष्टको नाम केवल ‘रअ’का सफल मिसनहरूसँग मात्रै होइन, विभिन्न विवादास्पद बयान र गतिविधिसँग पनि जोडिन्छ। यसअघिका अन्तरवार्तामा उनले आफ्नो भूमिकालाई अत्यन्तै प्रभावकारी बताउँदै आएका छन्।

नेपाल सरकारसँग सम्बन्धित यो भविष्यवाणीले भारतीय मिडियामा मात्र होइन, नेपाली राजनीतिक वृत्तमा समेत हलचल मच्चाउने निश्चित छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका