Wednesday, June 3, 2026
Homeसामाचाररैथाने बिउ जोगाउन बैंक

रैथाने बिउ जोगाउन बैंक

ऋण झिक्दा नगद रुपैयाँसँगै विभिन्न बालीनालीका बिउ अनिवार्य लग्नुपर्छ भनेको सुन्दा आश्चार्य लाग्न सक्छ। डोटीको जोरायल गाउँपालिकाको गैराबजारस्थित जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाले भने ऋण झिक्ने व्यक्तिले बालीनालीको बिउसमेत अनिवार्य लग्नुपर्ने प्रावधान राखेको छ। सहकारीले रैथाने तथा उन्नत जातका बालीका बिउहरूको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सामुदायिक बिउ बैंक स्थापना गरेको हो। सहकारीले बिउ बैंकमार्फत विभिन्न जातका बिउ र नगद किसानहरूलाई उपलब्ध गराउँछ। रैथाने तथा उन्नत जातका बालीनालीको संरक्षण र प्रवद्र्धनमा अग्रणी भूमिका पनि खेल्दै आएको छ।

सामुदायिक बिउ बैंकबाट ऋण झिक्ने विष्णादेवी डाँगी एक उदाहरणीय किसान हुन्। जोरायल १ खडिलाकी उनले घन्टेश्वर सामुदायिक बिउ बैंक डोटीबाट ५० हजार रुपैयाँ ऋण झिकिन्। नगदसँगै रैथाने दाल सिमीको बिउ पनि ऋणका रूपमा लगिन्। सिमीको दाल फलाएर ऋणस्वरूप लगेको नगद रकम र बिउ चुक्ता गर्न सक्नेमा उनी विश्वस्त छन्। लिखित सम्झौता गरेर ऋण झिकेकी विष्णाले यसअघि पनि बिउ बैंकबाट विभिन्नबालीको बिउ लगेर फलाएकी छन्। ‘भूगोल र माटो सुहाउँदो हाम्रै गाउँघरमा फल्ने गुणस्तरीय बिउ हाम्रो बिउबैंकमा पाइन्छ। सिमी राम्रै फल्ने भएकाले एक सिजनमा फलाएको दाल बेचेर ऋण चुक्ता गर्न गाह्रो छैन’, विष्णा भन्छिन्।

उता जोरायल १ चपरचानीका प्रेम थापा मगरले गत वर्ष ३० हजार नगद र जौको बिउ सामुदायिक बिउ बैंकबाट ऋण झिकेर लगे। बारीमा लहलहलाउँदो जौ फलाएर घन्टेश्वर सामुदायिक बिउ बैंकमै बिक्री गर्न सफल भए। ‘बिउ र नगद दुवै पाएपछि हामी किसानलाई प्रोत्साहन हुन्छ’, प्रेम भन्छन्, ‘उत्पादन गरेको सबै बैंकले नै खरिद गर्ने भएपछि बजारको पनि चिन्ता रहेन , त्यसले मेहनत गर्न हौसला मिल्छ।’

बिष्णा र प्रेम थापामगर नमुना कृषक हुन्। अधिकांश किसानहरूले घन्टेश्वर सामुदायिक बिउ बैंकबाट स्थानीय जात तथा उन्नत जातका बिउ ऋणका रूपमा लग्ने गरेका छन्। सो बैंकले कृषकलाई आवश्यक पर्ने थरीथरीका बाली तथा जातहरूको शुद्ध तथा गुणस्तरीय बिउबारे जानकारी दिने तथा उपभोग प्रवद्र्धन गर्ने गरेको व्यवस्थापक गणेश बिष्ट बताउँछन्। यसका अलावा बिउ बैंकले विभिन्न रैथाने बाली तथा जातहरूको विविधता प्रदर्शनी स्थल राख्ने, सामुदायिक स्तरमा कृषि जैविक विविधताको अभिलेखीकरण गर्ने, अमिला जातका फलफूलका बेर्ना उत्पादन गर्नेलगायत कृषकको क्षमता वृद्धि गर्नेजस्ता क्रियाकलाप सञ्चालन गर्दै आएको छ। स्थानीय किसानकै सकृयता र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)को सहयोगमा २०६८ सालमा यस घन्टेश्वर सामुदायिक बिउ बैंकको स्थापना भएको हो। सोही बिउबैंकलाई २०७० सालमा जैविक विविधता संरक्षण कृषि सहकारीका रूपमा विस्तार गरी गतिविधि अघि बढाइरहेका छन्। जसमा ३४० कृषक सदस्य छन्।

पछिल्लो समय घन्टेश्वरजस्तै सामुदायिक बिउ बैंकको अवधारणा नेपालमा फैलिँदो छ। सन् १९९० को दशकमा फिलिपिन्स, भारत, इथियोपीया, बंगलादेशमा सामुदायिक बिउ बैंकको अवधारणा लागु भएको हो। नेपालमा भने यूएससी क्यानडाको सहयोगमा १९९५ मा ललितपुरको दलचौकीमा पहिलोपटक स्थापना गरिएको थियो। हालसम्म विभिन्न कृषक समूह, सहकारी तथा संस्थाहरूमार्फत नेपालमा करिब १४४ सामुदायिक बिउ बैंक  सञ्चालनमा छन्। समुदायसँग प्रत्यक्ष संलग्न रहेर ली–बर्ड संस्थाले विभिन्न जिल्लामा २३ सामुदायिक बिउ बैंक स्थापनामा सहयोग गरेको छ। स्थानीय बाली तथा जातहरूको बिउहरू संरक्षण मात्र गर्ने, उन्नत जातका बिउहरूको उत्पादन तथा बिक्री बितरण गर्ने र स्थानीय र उन्नत जात दुवै प्रकारका बिउकोे संरक्षण र बिक्री वितरण गर्ने गरी तीन प्रकारका सामुदायिक बिउ बैंक नेपालमा छन्। घन्टेश्वर तेस्रो प्रकारको बैंकमा पर्छ।

नेपालमा स्थापना भएका सामुदायिक बिउ बैंकमध्ये घन्टेश्वर सफल उदाहरण बनेको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशी भन्छन्, ‘सर्वसुलभ रूपमा किसानलाई गुणस्तरीय बिउ उपलब्ध गराउन सामुदायिक बिउ बैंकको अवधारणा एकदमै उपलब्धीमूलक छ।’ बिउ उत्पादन र बजारीकरणमा कृषकहरूको क्षमता बढाउन, आनुवांशिक स्रोतमा लाभ र पहुँचको बाँडफाँट गर्न बैंकहरूको योगदान हुन्छ। यस्तै बिउमा कृषकहरूको अधिकार संरक्षण गर्न तथा जलवायु परिवर्तनले कृषिमा पार्ने नकरात्मक असर कम गर्न यस्ता सामुदायिक बिउ बैंकहरूको ठुलो योगदान हुने उनी जानकारी दिन्छन्।

स्थानीय स्तरमा यस्ता सामुदायिक बिउ बैंकहरूको सञ्चालनले स्थानीय कृषि जैविक विविधताको संरक्षण गर्न मद्दत गर्छ। दिगो कृषि प्रणालीको विकासमा समेत टेवा पुर्‍याउँछ।

जैविक विविधता संरक्षण कृषि सहकारीका अध्यक्ष कविराम डाँगीका अनुसार विभिन्न ७३ जातिका बालीको बिउ बैंकमा सुरक्षित छ। मूला, चोतो, रायो, आलु, लसुन, धान, गहुँ, जौ लगायतका बालीनाली र तिनका प्रजातिको बिउका लागि किसान बिउबैंककै सहयोगले आत्मनिर्भर भइसकेका छन्। यसरी संरक्षण गरेका ५८ जातका बिउ सहकारीले राष्ट्रिय आनुवांशिक सो्रत केन्द्र÷राष्ट्रिय जीन बैंकलाई दीर्घकालीन संरक्षणका लागि राख्नसमेत उपलब्ध गराएको अध्यक्ष कविराजको भनाइ छ।

आयातीत बैंकहरूको भरमा स्थानीय छैनन्। यो खुसीको कुरो हो। आवश्यकताअनुसार बिउ लिने र दिने काम गरिने भएकाले यसलाई बिउ बैंक भनिएको हो। बजारमा पाइने आयातीत बिउबिजनप्रतिको बढ्दो निर्भरता कम गर्न, रैथाने बालीनालीलाई लोप हुनबाट जोगाउनु यसको काम हो। किसानहरूको आयस्रोतमा अभिवृद्धि गर्न सकिने उन्नत बिउहरूको प्रवद्र्धन गर्न यस्ता बैंकले अहं भूमिका खेलेको छ। बजारमा पाइने बिउहरूले ल्याउन सक्ने अनेकौं विकृति र नोक्सानबाट सामुदायिक बिउ बैंकले जोगाउँछ। त्यसैले पनि किसान खुसी छन्। सहकारीले बिउ संरक्षण र प्रवद्र्धनका साथै विभिन्न गतिविधि गर्दै आएको छ।

किसानका समूह बनाएर विभिन्न जाति प्रजातिमा अनुसन्धान गर्ने काम भएका छन्। जनचेतनामूलक पाठशाला सञ्चालन गर्ने, किसानलाई कृषि पेशामा आकर्षण गर्न विभिन्न्न योजना ल्याउने पनि गरिएको छ। बिउहरूको ग्रेडिङदेखि खरिद–बिक्री गर्नेसम्मका काम सहकारीले गर्दै आएको छ। अहिले ली–बर्डको सहयोगमा स्थानीय बिउ प्रणाली सुधार कार्यक्रमअन्तर्गत नयाँ र रैथाने जातमा अनुसन्धान पनि गर्ने गरेको छ। परियोजनाका सहायक कोर्डिनेटर सरोज पन्त धान, गहुँ र भटमासमा अनुसन्धान गरिरहेको बताउँछन्। धानका ३२, गहुँका ५९ र भटमासका १०, आलु २३ प्रजातिमा अनुसन्धान भइरहेको छ। डोटी क्षेत्रबाट लोप हुने अवस्थामा पुगेका रैथाने जोरायलको बासमति, दाब्दी गहुँ र सेतो भटमासलाई नेपाल सरकारको बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ता गर्ने प्रकृयाका लागि सहयोग गर्ने काम भइरहेको छ। मीठो बास्ना र स्वादिस्ट मानिने जोरायल बासमति चामल, सेतो भटमास र दाब्दी गहुँ डोटीमा प्रख्यात भए पनि बिउको संरक्षण गर्न नसक्दा लोप हुने अवस्थामा छन्।

शुद्ध बिउ नहुँदा गुणहरू खस्कँदै गएको देखिन्छ। केही वर्षभित्रै उच्चस्तरको बिउ संरक्षण गरी दुई वर्षयता ली–वर्ड संस्थाको सहयोगमा घन्टेश्वरले दुई वर्षयता अनुसन्धान गरिरहेको बिउबिजन प्रयोगशाला सुदूरपश्चिमका निमित्त प्रमुख सिद्धराज उपाध्याय बताउँछन्। ‘सेतो भटमास र जोरायल बासमती चामल दुई वर्षको अनुसन्धानपछि पहिलो चरणको ड्राफ्ट रिपोर्ट सरकारी जिंक बैंकमा उहाँहरूले पठाइसक्नु भएको छ’, भन्छन्, ‘त्यहाँबाट राष्ट्रिय बिउबिजन समितिको सचिवालयमा जाने प्रकृयामा छ। अब चाँडै दर्ता प्रकृयामा पुग्छ।’

स्वादिष्ट र पोसिलो मानिने जोरायल क्षेत्रको दाब्दी गहुँको संरक्षणमा पनि किसान जुटेको किसान इन्द्र ओलीको भनाइ छ। तीन दशक अघिसम्म जोरायल क्षेत्रमा दाब्दी गहुँ मात्र लगाउने किसान पछिल्लो समय विभिन्न खालका उन्नत गहुँ लगाउन थालेका छन्। त्यसपछि लोप हुने अवस्थामा पुगेको हो। अहिले किसानहरू ली–वर्डद्धारा सञ्चालित स्थानीय बिउ प्रणाली सुधार कार्यक्रमको सहयोगमा दाब्दी गहुँको सुधार गर्न लागि परेका छन्। जोरायल–४ का किसान भजनसिं मडैले दाब्दी गहुँको उत्पादन राम्रो भएकोमा खुसी व्यक्त गरे। स्वादिष्ट र पोसिलो भए पनि उत्पादन थोरै हुने भएकाले किसानको आकर्षण घटेको छ। त्यसैले उत्पादन वृद्धिका लागि बाली सुधार गरिरहेको देखिन्छ। वार्षिक ५५ लाख बिउको खरिदबिक्री गर्दै आएको सहकारीले तीन महिना अघि मात्र विभिन्न बिउबिजन ग्रेडिङ गर्ने मेसिन जडान गरेको छ। तीन महिनाको अवधिमा १२ टन मकै ग्रेडिङ गरिसकिएको सहकारीका व्यवस्थापक गणेश बिष्ट जानकारी दिन्छन्। सुदूरपश्चिममा उपलब्ध हुने विभिन्न बिउबिजनको ग्रेडिङ गर्न सकिन्छ।

घन्टेश्वर सामुदायिक बिउ बैंकले स्थानीय तथा रैथाने बालीनालीको संरक्षण र उत्पादन, उन्नत बिउबिजनको व्यापारीकरण गरी राम्रो आम्दानीको बाटो सिर्जना गरेको देखिन्छ। उन्नत बिउ तथा ऋणको कारोबारबाट भएको आम्दानीले स्थानीय तथा रैथाने बालीनालीको संरक्षण तथा प्रवद्र्धनको काम गर्ने तरिका निकै अनुकरणीय छ। घन्टेश्वरको अवधारणालाई अन्य सहकारी, जिल्ला तहका सरकारी निकाय साथै प्रदेशस्तरीय निकायहरूले पनि प्रवद्र्धन गर्नुपर्ने देखिन्छ। स्थानीय स्तरमा यस्ता सामुदायिक बिउ बैंकहरूको सञ्चालनले स्थानीय कृषि जैविक विविधताको संरक्षण गर्न मद्दत गर्छ। दिगो कृषि प्रणालीको विकासमा समेत टेवा पुर्‍याउँछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका