Saturday, April 11, 2026
Homeसामाचार२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष अनिवार्य, सरकारको निर्देशन

२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष अनिवार्य, सरकारको निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलमा सरसफाइ, सुरक्षा र गोपनीयता सुनिश्चित गर्दै स्तनपान तथा शिशु हेरचाहकक्ष सञ्चालन गर्न, आवश्यकताअनुसार स्तरोन्नति गर्न तथा बिरामी र विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष व्यवस्था गर्न निर्देशन दिएको छ।

त्यसैगरी, विमानस्थलको सरसफाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार कायम गर्न, दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली लागू गर्न तथा विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न पनि भनिएको छ। शौचालयमा महिला यात्रुका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।

मन्त्रालयले यी निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गरी प्रगति विवरण मन्त्रालयमा पेश गर्न सम्बन्धित निकायलाई भनेको छ। साथै, नागरिक तथा यात्रुहरूलाई पनि निर्देशन कार्यान्वयन भए/नभएकोबारे मन्त्रालयका सूचना अधिकारीलाई जानकारी दिन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका