काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने अनुमान गरिएको छ।
आज राति हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण तथा ती क्षेत्रमा यातायात सञ्चालन गर्ने चालक तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


