Saturday, April 11, 2026
Homeसुन्दर नेपालपर्यटन बुझेको मन्त्री अहिलेसम्म आएन : पर्यटन बोर्ड उपाध्यक्ष सापकोटा

पर्यटन बुझेको मन्त्री अहिलेसम्म आएन : पर्यटन बोर्ड उपाध्यक्ष सापकोटा

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको भनिए पनि अहिलेसम्म पर्यटनलाई गहन रूपमा बुझ्ने पर्यटनमन्त्रीको नियुक्ति हुन नसकेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित तनहुँ पर्यटन प्रवर्द्धन समाजको ११औँ वार्षिक साधारणसभालाई शुभकामना दिँदै उपाध्यक्ष सापकोटाले पर्यटन देशको विकासका लागि महत्वपूर्ण क्षेत्र भनिए पनि व्यवहारमा त्यसअनुसारको नेतृत्व नपाएको गुनासो गरे।

उनले भने, “सरकारी क्षेत्रबाट पर्यटनलाई देशको विकासको आधार मानिन्छ भनिन्छ, तर अहिलेसम्म पर्यटनलाई राम्ररी बुझ्ने पर्यटनमन्त्री आउनुभएको छैन।”

सापकोटाले पर्यटन मन्त्रालयलाई बजेट विनियोजन गर्दा अन्य मन्त्रालयको तुलनामा अत्यन्त न्यून र अपुग मात्रामा छुट्याइने गरिएको पनि बताए।
“पर्यटन महत्वपूर्ण भनिन्छ, तर बजेट छुट्याउँदा त्यो हिसाबले दिइँदैन। अहिले पनि पर्यटन मन्त्रालयको बजेट हेर्दा अन्य मन्त्रालयभन्दा निकै कम छ,” उनले भने।

उनका अनुसार पर्यटनमन्त्री बन्ने राजनीतिक नेतृत्वले विज्ञको उचित प्रयोग नगर्दा नीति निर्माण र कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। राज्यले पर्यटनलाई जनताको जीवनस्तर उकास्ने माध्यमका रूपमा प्रयोग गर्न नेतृत्व तहले स्पष्ट बुझाइ बनाउन आवश्यक रहेको उनले जोड दिए।

नेपालको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास, प्रभावकारी प्रचार–प्रसार तथा अवैज्ञानिक कर र भ्याट प्रणालीको सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “पूर्वाधार, प्रवर्द्धन र कर प्रणाली सुधार गर्न सकियो भने नेपालको पर्यटनले अपेक्षित गति लिन सक्छ।”

कार्यक्रममा बोल्दै प्राध्यापक डा. जयराम आचार्यले पर्यटन नेपालका लागि विकासको आधारस्तम्भ भएको बताए। कृषि, पर्यटन र जलस्रोत नेपालको समग्र विकासका मुख्य आधार भए पनि पर्याप्त सम्भावना हुँदाहुँदै पर्यटन व्यवसाय फस्टाउन नसकेको उनको भनाइ थियो।

उनले जनस्तरबाट पर्यटन प्रवर्द्धनका लागि प्रयास भए पनि राज्यको नीति स्पष्ट नहुँदा अपेक्षित परिणाम आउन नसकेको बताए।

तनहुँ पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष रुद्रराज सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकांश वक्ताहरूले तनहुँको पर्यटन विकासका लागि पर्याप्त काम हुन नसकेको र त्यसका लागि सामूहिक प्रयास आवश्यक रहेको औंल्याएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका