Tuesday, May 26, 2026
Homeसामाचार१७ अर्ब डलर लगानीमा अमेरिकामा कारखाना खोल्दै सामसुङ

१७ अर्ब डलर लगानीमा अमेरिकामा कारखाना खोल्दै सामसुङ

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले अमेरिकाको टेक्सासमा सेमिकन्डक्टर उत्पादन कारखाना खोल्ने भएको छ ।

स्मार्टफोन लगायतका डिभाइसहरुमा प्रयोग हुने चिप्स अर्थात् सेमिकन्डक्टरको विश्वव्यापी अभावलाई कम गर्नका लागि सामसुङले १७ अर्ब डलरको लगानीमा टेक्सामा कारखाना खोल्न लागेको हो ।

टेक्साको यो कारखाना सामुङले अमेरिकामा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुनेछ । मंगलबार टेक्सासमा स्थापना हुने चिप्स उत्पादन कारखानाको घोषणा गर्दै सामसुङले यसबाट प्रत्यक्ष रुपमा दुई हजार उच्च प्राविधिक जनशक्तिलाई रोजगारी प्राप्त हुने जनाएको छ । साथै कारखाना पूर्णरुपमा सञ्चालनमा आएसँगै अन्य हजारौं स्थानीयले पनि रोजगारी पाउनेछन् । सन् २०२४ को उत्तरार्धबाट उक्त कारखाना सञ्चालनमा ल्याउने लक्ष्य सामसुङको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा सिइओ किनाम किमले विज्ञप्तीमा भनेका छन् : उच्चतम उत्पादन क्षमताका साथ हामीले हाम्रा ग्राहकहरुको आवश्यकतालाई राम्रोसँग पूरा गर्न सक्नेछौँ र विश्व सेमिकन्डक्टर आपूर्ति श्रृंखलाको स्थायित्वमा पनि योगदान दिनेछौं ।

नयाँ कारखाना स्थापना गर्नका लागि टेक्सासको टेलर सहर छनोट गर्नुमा पनि विभिन्न पक्षहरू कारण रहेको सामसुङले जनाएको छ । जसमा हाल अस्टिनमा रहेको उत्पादन केन्द्रसँगको निकटता, स्थानीय सेमिकन्डक्टर वातावरण तथा सरकारी सहयोग रहेका छन् । नयाँ उत्पादन कारखाना ५० लाख वर्गमिटरमा फैलिएको हुनेछ।

पछिल्लो समय अमेरिका सरकारले सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकता दिइरहेको समयमा सामसुङको यो घोषणा बाहिर आएको हो । पछिल्लो समय महामारी, मौसमको प्रतिकूलता लगायतका कारणले अमेरिकामा सेमिकन्डक्टरको उत्पादनमा संकुचन आएको छ । अघिल्लो वर्ष विश्व सेमिकन्डक्टर बजारमा अमेरिकी उत्पादकको हिस्सा १२ प्रतिशतमा झरेको थियो, जुन सन् १९९० मा ३७ प्रतिशतमा थियो ।

यो क्षेत्रमा दक्षिण कोरिया तथा ताइवानलगायतका एसियाली मुलुकहरु अग्रणी स्थानमा छन् । सामसुङ लगायतका दक्षिण कोरियाली कम्पनीहरुले सेमिकन्डक्टरको उत्पादन बढाउनका लागि ठूलो परिमाणमा लगानी गरिरहेका छन् ।

गत मे महिनामा सामसुङले कम्प्युटरको लोजिक चिप उत्पादनमा ३४ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो ।

सिएनएनबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका