काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धानबालीको मुख्य सिजनमा किसानलाई मल अभाव हुन नदिन विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ८० हजार मेट्रिक टन युरिया आयात गर्ने सहमति भएको छ। यसमध्ये पहिलो चरणमा ५० हजार मेट्रिक टन युरिया साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ।
यस्तै, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डर मार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाइएको छ। यसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया समावेश छन्।
मन्त्रालयका अनुसार ओमानबाट ३० हजार मेट्रिक टन युरिया ढुवानीको क्रममा रहेको छ। उक्त मल असार अन्तिमसम्म भारतको कोलकाता बन्दरगाह पुग्ने र साउनको दोस्रो साताभित्र नेपाल भित्रिने अपेक्षा गरिएको छ।
त्यसैगरी, ३० हजार मेट्रिक टन डीएपी विशाखापट्टनम बन्दरगाह पुगिसकेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार यो मल असार १९–२० गतेदेखि नेपाल भित्रिन सुरु हुनेछ।
अर्को ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको छ। यो साउनको पहिलो सातामा कोलकाता पुगेर साउन अन्तिमसम्म नेपाल आइपुग्ने जनाइएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कतारबाट ३० हजार मेट्रिक टन र साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया पठाइसकिएको छ। यी दुवै खेप असार अन्तिम सातासम्म कोलकाता पुग्नेछन्।
यस्तै, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी पनि ढुवानीमा रहेको छ। यो मल असार अन्तिम सातासम्म कोलकाता पुगेर साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उपलब्धतामा चुनौती देखिए पनि किसानलाई आवश्यक मल समयमै उपलब्ध गराउन सरकारले विशेष पहल गरिरहेको मन्त्रालयको भनाइ छ।
चालु आर्थिक वर्षमा सरकारले करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने लक्ष्य लिएको छ।


