Wednesday, June 3, 2026
Homeअर्थ र ब्यापारलिभिङ टुगेदरः नेपाली समाजमा एक नैतिक बहस

लिभिङ टुगेदरः नेपाली समाजमा एक नैतिक बहस

कुनै पुरुष वा महिला वैधानिक विवाहको अलावा निश्चित समयको लागि एउटै छानोमुनि जीवनयापन गर्नु नै ‘लिभिङ टुगेदर’ भनिन्छ । विशेषतः कमजोर आर्थिक स्थिति, यौन सन्तुष्टि, प्रेमका कारण युवा युवती लिभिङ टुगेदरमा बस्ने गर्दछन् । ठ्याक्कै समय यकिन नभए पनि, सन् १९७५ को दशक यता पश्चिमा राष्ट्रमा लिभिङ टुगेदरको पद्धति अवलम्बन हुँदै आएको छ ।

हाल आधुनिकताको परिभाषा दिदै आफ्नो मूल्य मान्यता विपरित नेपाल लगायत पूर्वी एशियाको विभिन्न देशमा लिभिङ टुगेदरमा बस्ने प्रवृत्ति फैलिदै गएको छ । नेपालको परिपेक्षमा लिभिङ टुगेदरमा बस्नेको संख्या यकिन नभएता पनि विशेषतः सहर केन्द्रीत युवा युवतीहरूको प्रमुख छनौट भने पक्कै बन्दै गएको छ । वैवाहिक जीवनको जिम्मेवारी र प्रतिबद्धतालाई बेवास्ता गरी यौन जीवनको आनन्द लिनु लिभिङ टुगेदर बस्नुको प्रमुख कारण हो ।

विश्व परिवेश हेर्दा अस्ट्रेलियामा लिभिङ टुगेदरमा बस्ने क्रम बढ्दो छ । सन् १९७५ मा १६% जनसंख्या विवाह पूर्व लिभिङ टुगेदरमा बस्ने गरेकोमा सन् २००८ मा आइपुग्दा ७८% जनसंख्या यस्तो सम्बन्धमा बाँधिएको पाइन्छ । सुरुवाती प्रेम, कालान्तरमा व्यक्तिगत स्वतन्त्रतामा बन्देज (लवाई, खवाई, सामाजिक सम्बन्धमा निगरानी आदि) र आफूबमोजिम नचले सम्बन्ध त्याग्ने अधिकांश पुरुष प्रवृत्तिले महिलाहरु वास्तविक पीडित बनेका छन् ।

हालको परिपेक्षमा नेपालका ठूला सहरमा युवा युवतीहरू परिवारको सल्लाह बिना लिभिङ टुगेदर बस्ने गरेको पाइन्छ । यस्तो सम्बन्धमा महिलाले विवाह अगावै गर्भ बोके भने सामाजिक, कानुनी र पारिवारिक अस्वीकार्यता र पुरुष पार्टनरको दवावको कारण महिला वर्ग पटक पटक गर्भपतन गर्न बाध्य भएका छन् । यसले उनीहरुको स्वास्थ्यमा पनि गम्भीर असर पर्ने गरेको छ ।

साथै, लिभिङ टुगेदर सम्बन्धबाट पैदा भएका बालबच्चा र आमा दुबैलाई समाजले बहिष्कार गर्ने र बच्चाको भविष्यमाथि गम्भीर समस्या आउने देखिन्छ । कानुनी रुपमा पनि अविवाहित महिला आफ्नो सन्तानलाई नागरिकता दिलाउन नसक्ने झन्झट छ । मुलुकी देवानी संहिता–२०७४ को दफा ७४ ले शारीरिक सम्पर्क भई शिशु जन्मिएमा स्वतः विवाह भएको मानिने भएता पनि बहुविवाह ठहरिने अवस्थामा भने उक्त कानुन लागू नहुने प्रावधान रहेको छ ।

लिभिङ टुगेदर बस्दै गरेको जोडीमा गर्भ बस्न गएमा पुरुषले जिम्मेवारी नलिई फरार हुने भएकाले अधिकांश महिला र नाबालक बिचल्लित भएका छन् । सामाजिक र पारिवारिक अपहेलना अनि अभाव झेल्न नसक्दा अधिकांश महिला मानसिक समस्यामा गई आत्महत्या समेत गर्दछन् । यस्तो अवस्थाको लागि भने कानुनले झन् अस्पष्टता सिर्जना गरेको छ ।

म ब्यक्तिगत हिसाबले लिभिङ टुगेदरको विरोधी भने हैन । तर समाज र कानुनबाट अस्वीकृत यस्तो सम्बन्ध टुटेको खण्डमा अविवाहित आमाको संरक्षणको दायित्व कसको ? नाबालिगको जन्मदर्ता र नागरिकताको ब्यवस्था के ? कुण्ठित पितृसत्तात्मक नेपाली समाजले तिनलाई कुन स्थान प्रदान गर्छ ? भन्ने मुल प्रश्न हो ।

अर्काेतिर, लिभिङ टुगेदर सम्बन्ध कहिले स्थापित हुन्छ र कहिले अन्त्य हुन्छ भन्ने भेउ नभएकाले यस्तो सम्बन्धले समाजलाई मात्र नभई कानुनी संस्था र न्यायलयलाई समेत चुनौती दिएको छ । सम्बन्धको प्रवृत्ति नै गलत ठह्र्याउन भने पक्कै सकिन्न । तर हाडनाताको सम्बन्ध भएका जोडी र समलिङ्गीहरुका लागि विद्यमान विवाह पद्धति र उनीहरुमाथि लगाइएको बन्देजको विकल्प भने जरुर हो लिभिङ टुगेदर ।

‘ग्लोबल प्रेस जर्नल’को प्रकाशित तथ्याङ्कअनुसार महिला आयोगमा सन् २०१२–२०१३ सम्म दर्ता गरिएको घरेलु दुर्व्यवहारमा लगभग २५ प्रतिशत लिभिङ टुगेदरमा रहेको महिलाहरु पर्दछन् । विवाह पूर्वको यौन सम्पर्कलाई नेपाली समाजले अस्वीकार गर्ने हुँदा अधिकांश पीडित महिलाहरु यस्तो समस्या बाहिर ल्याउन असक्षम छन् । ईज्जतको डरले जस्तोसुकै कठिन अवस्था झेले पनि समस्या सार्वजनिक गर्न चाँहदैनन् ।

राष्ट्रिय महिला आयोगले लिभिङ टुगेदरसम्बन्धि सन् २०११ मा गरेको सर्वेक्षणअनुसार केवल २० प्रतिशत पुरुषमात्र आफ्नो पार्टनरसँग विवाह गर्ने मनसायले प्रतिशत बस्ने गरेको पाइन्छ । तसर्थ यस्तो सम्बन्धमा बस्नु अघि महिलाले पनि उचित निर्णय लिनु आवश्यक देखिन्छ ।

उचित कानुनी व्यवस्थाको अभावमा लिभिङ टुगेदर बसाइँको प्रचलनले समाजलाई नकारात्मक दिशातर्फ डोर्याएको महसुस गर्न सकिन्छ । कानुनी खुलापनको उपज कतिपय विवाहित पुरुषले अविवाहित महिलालाई विवाहको प्रलोभनमा पारी शारीरिक शोषण गरी अलपत्र पारेको जवलन्त उदाहरण छन् । विभिन्न विश्लेषकले लिभ ईन रिलेशनसिपमा बस्दा एकअर्कालाई विवाह अगावै पहिचान गर्ने मौकाको रुपमा व्याख्या गरेको पाइन्छ । सोही विश्लेषणको आधारमा लिभिङ टुगेदरलाई ‘टेस्ट राउण्ड’को रुपमा विश्लेषण गरिएको छ भन्न सकिन्छ । मन परे ‘गो अहेड’ नपरे ‘गेट लस्ट’ ।

लिभिङ टुगेदरको पूर्ण रुप विवाह नै रहेको हुँदा र यसको असरबाट मुक्ति मिल्ने हुँदा तत्कालीन नेपाली समाजमा हावी भएको विवाह पद्धति नै उचित हुने देखिन्छ । समस्याबाट बञ्चित, भौतिक सम्पतिमा पहुँच, कानुनी, पारिवारिक र सामाजिक सुरक्षा हुने हुँदा लिभिङ टुगेदरसम्बन्धि उचित कानुनको परिबन्ध नभएसम्म विवाह बन्धन नै अंगाल्नु उचित देखिन्छ ।

लिभिङ टुगेदरको हकमा सामाजिक मानसिकताको परिवर्तनका साथै प्रभावकारी र  उपयुक्त कानुनी संरक्षणको आवस्यकता देखिन्छ । यसको निम्ति उमेर हद कायम गर्ने, महिला तथा बालबच्चाहरुको संरक्षणको निम्ति नीति निर्माण गर्नुका साथै व्यवस्थित कानुनी कारवाहीको व्याख्या हुन अति आवश्यक छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका