Friday, July 3, 2026
Homeराजनीतिरास्वपा नेतृत्वको सरकारले शनिबार सार्वजनिक गर्दैछ सय दिने उपलब्धि

रास्वपा नेतृत्वको सरकारले शनिबार सार्वजनिक गर्दैछ सय दिने उपलब्धि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकार गठन भएको १०० दिन पूरा हुने अवसरमा सरकारले यस अवधिमा गरेका प्रमुख काम, नीति तथा सुधारका प्रयासहरूको समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार असार २० गते शनिबार सरकारले सय दिन पूरा गर्ने भएकाले सोही दिन उपलब्धिको विवरण सार्वजनिक गरिनेछ। कार्यक्रमको समय भने अन्तिम टुंगो लाग्न बाँकी रहेको उनले बताइन्।

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन, पारदर्शिता र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै सरकारले सय दिनभित्र सम्पन्न गर्ने कार्यसूची सार्वजनिक गरेको थियो।

सरकारले आफ्नो उपलब्धिका रूपमा २०४८ यताका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेजी प्रक्रिया, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी समस्या समाधान, सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, सहकारी समस्या समाधानका पहल तथा कर्मचारीका अतिरिक्त सुविधा कटौतीलगायतका कार्यलाई समेट्ने तयारी गरेको छ।

त्यसैगरी मन्त्रालयको संख्या घटाउने प्रयास, अनावश्यक दरबन्दी कटौती, सेवा प्रवाहमा सुधार, कानुन संशोधनको गृहकार्य, भ्रष्टाचार तथा वित्तीय अपराधमा छानबिन, कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणालीको सुरुवात र निर्णय प्रक्रियालाई छिटो तथा पारदर्शी बनाउने कदमलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरिने सचिवालयले जनाएको छ।

यद्यपि, सरकारका केही निर्णयलाई लिएर आलोचना पनि भइरहेको छ। विकल्पबिनै सुकुम्बासी हटाउने प्रयास, उद्योगी–व्यवसायीमाथि अनावश्यक दबाब सिर्जना गरेको, विपक्षी दलका नेता–कार्यकर्तामाथि प्रतिशोधपूर्ण कारबाही गरेको, शिक्षा क्षेत्रमा कर बढाएको, महँगी नियन्त्रण गर्न नसकेको तथा श्रमिक र निम्न आय भएका वर्गका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको आरोप सरकारमाथि लाग्दै आएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका