काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने र छानबिन प्रक्रिया सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा पार्टी कायम रहने निर्णय गरेको छ।
बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीको राजीनामाको मागसहित संसद्मा भइरहेको विरोध कायमै राख्ने निर्णय गरेको हो।
त्यसैगरी, बैठकले संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा गरिएको मनोमानीपूर्ण हेरफेर संविधानले प्रत्याभूत गरेको संसदको सार्वभौमिकतामाथिको हमला भएको ठहर गर्दै, उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन गरी संलग्नहरूलाई अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ।
रूपन्देही उपनिर्वाचनबारे निर्णय
बैठकमा आगामी कार्तिक २७ गते हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा उम्मेदवार छनोट सम्बन्धी प्रक्रिया पनि प्रमुख एजेन्डा बनेको थियो। पार्टी सचिवालयमा पेश भएको उम्मेदवार छनोट विधिमा व्यापक छलफल भएको र प्राप्त सुझावहरू समावेश गरी आइतबार बस्ने सचिवालय बैठकमा उक्त कार्यविधि अनुमोदनका लागि पेश गरिने निर्णय भएको छ।
पार्टीले त्यहाँको आम नागरिक, शुभेच्छुक र कार्यकर्ताहरूको चाहनालाई प्राथमिकता दिँदै लोकतान्त्रिक प्रक्रियामार्फत योग्य, सक्षम र लोकप्रिय उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्य निर्णयहरू यस्ता छन्:
पार्टीका सबै केन्द्रीय विभागहरूलाई सक्रिय बनाउने।
रिक्त पदपूर्तिका लागि सम्बन्धित विभाग प्रमुखले पहल गर्ने।
२०८२ असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन २०८२ साउन ७ गतेभित्र पेश गर्न निर्देशन।
प्रदेशस्तरीय विभागहरू असार मसान्तसम्म गठन गर्न केन्द्रीय विभाग प्रमुखहरूले अग्रसरता लिने।
पालिका अधिवेशनका लागि आवश्यक वडा अधिवेशनको मापदण्ड संशोधन गर्दै अब ५० प्रतिशत वडा अधिवेशन भएको पालिकामा पनि पालिका अधिवेशन गर्न सकिने।
संगठनको अवस्थालाई चित्रण गर्ने आधारस्वरूप वडा अधिवेशनको विवरण संकलनलाई प्राथमिकता दिइने।
केन्द्रीय संगठन विभागमा चितवनकी प्रमिला भुसाल, मानकुमार लामा, र दाङका सुशील अधिकारीलाई सदस्यमा मनोनयन।
पार्टीले संगठन निर्माण र सुदृढीकरणलाई सशक्त रूपमा अघि बढाउने रणनीति अनुरूप यस्ता निर्णयहरू लिएको जनाएको छ।


