Thursday, September 10, 2026
Homeअन्तराष्ट्रिययुरोपको सबैभन्दा ठूलो न्यूक्लियर पावर प्लान्टमा रुसी हमलाबाट आगजनी : युक्रेन

युरोपको सबैभन्दा ठूलो न्यूक्लियर पावर प्लान्टमा रुसी हमलाबाट आगजनी : युक्रेन

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसी सैनिकले जेपोरजिया न्यूक्लियर प्लान्टको चारैतिर गोलीबारी गरिरहेका छन् । यो युरोपकै सबैभन्दा ठूलो पावर प्लान्ट हो । स्थानीय अधिकारीहरुका अनुसार हमलाका कारण प्लान्टमा आगो लागेको छ । युक्रेनी विदेशमन्त्री कुलेबाले ट्वीटरमा लेखेका छन्, ‘रुसीहरुले तत्काल गोलीबारी बन्द गरुन्, ताकि अग्निनियन्त्रकहरु त्यहाँसम्म पुग्न सकुन् ।’

ओपन न्यूक्लियर नेटवर्कका निर्देशक लाउरा रकवुडले ‘बीबीसी रेडियो ४’लाई बताएअनुसार युद्धका कारण युक्रेनको इलेक्ट्रिसिटी ग्रिड प्रभावित हुन सक्छन् । ती ग्रिड न्यूक्लियर पावरमा निर्भर छन् ।

उनका अनुसार प्लान्ट आसपास सैन्य संघर्षले दुई खतरा बढाएको छ– प्लान्टलाई भारी नोक्सान हुने र त्यहाँ काम गर्ने कामदार प्रभावित हुन सक्छन् । त्यसभन्दा बढी गम्भीर खतरा प्लान्ट ठप्प हुने र परमाणु दुर्घटना हुन सक्नेछ ।

दि इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आइएइए) ले आफू युक्रेनी अधिकारीहरुसँग सम्पर्कमा रहेको जनाएको छ । प्लान्टका एक प्रवक्ताले सोशल मिडियामार्फत रुसी सैनिकलाई गोलीबारी बन्द गर्न भनेका छन् ।

समाचार एजेन्सी एपीका अनुसार टेलिग्राममा एक भिडियोमार्फत एन्ड्री तुजले भनेका छन्, ‘युरोपको सबैभन्दा ठूलो न्यूक्लियर पावर प्लान्टमा परमाणु खतराको आशंका छ । रुसीहरुले  भारी गोलीबारी गरिरहेका छन् र त्यहाँ आगो नियन्त्रणमा लिन मुस्किल छ । जुन रिएक्टरमा आगो लागेको छ, त्यसको मर्मत भइरहेको छ र हाल त्यो चालु छैन तर त्यसमा परमाणु इन्धन छ ।’

उक्त पावर प्लान्टबाट युक्रेनलाई २५ प्रतिशत विद्युत प्राप्त हुन्छ । रुसले युक्रेनको राजधानी किएभबाट करिब एक सय किलोमिटर टाढा रहेको चेर्नोबिल प्लान्टलाई आफ्नो नियन्त्रणमा लिएको थियो । यो पहिलादेखि नै निष्क्रिय छ ।

युक्रेनमाथि रुसी हमलाको आज नवौं दिन हो । दोस्रो विश्वयुद्धपछि युरोपको कुनै देशमाथि यो अहिलेसम्मकै ठूलो हमला हो । रोयटर्स समाचार एजेन्सीका अनुसार हमलामा हजारौं मानिसको मृत्यु भएको वा घाइते भएका छन् । युक्रेनबाट करिब १० लाख मानिस शरणार्थीका रुपमा अन्य देशमा भागेका छन् भने पश्चिमी मुलुकको प्रतिबन्धका कारण रुसी अर्थव्यवस्था धर्मराएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका