काठमाडौँ, १२ असोज । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै स्मरणीय जित दर्ता गर्यो।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले २० ओभरमा नौ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो। उसका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९–१९ रनको योगदान दिए।
नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको थियो। कप्तान रोहित पौडेलले तीन चौका र एक छक्कासहित ३८ रन बनाए। कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रनको योगदान दिए। गुल्शन झाले २२ रन र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिँदा नवीन विदायसीले तीन तथा कप्तान अकिल होसेनले एक विकेट लिए।
नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको हो। आगामी सातादेखि ओमानमा हुने टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारी स्वरूप नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ। सिरिजको दोस्रो खेल असोज १३ गते हुनेछ।


