नयाँ दिल्ली: महाराष्ट्रको जलगाउँ जिल्लामा भएको दुःखद रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यस घटनाको पुष्टि गरेका हुन्।
दुर्घटना लखनऊबाट मुम्बई जाँदै गरेको रेलमा भएको हो। रेल जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रहेको बेला आगो लागेको आशंका भएपछि यात्रुहरू आतिँदै ट्र्याकको अर्को पट्टि हामफाल्न पुगे। दुर्भाग्यवश, त्यही ट्र्याक हुँदै आइरहेको कर्नाटक एक्सप्रेसले केही यात्रुहरूलाई ठक्कर दिएको जनाइएको छ।
दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। घाइतेहरूको उपचार पाचोरा ग्रामीण अस्पतालमा भइरहेको छ। घटनामा कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावलतर्फ गइरहेको बेला संलग्न भएको बताइएको छ।
मुख्यमन्त्रीको प्रतिक्रिया
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। उनले घटनास्थलमा तत्काल आठवटा एम्बुलेन्स पठाइएको र घाइतेहरूको उपचारका लागि नजिकका निजी अस्पतालहरूलाई पनि सतर्क राखिएको जानकारी दिएका छन्। साथै, दुर्घटनाको पूर्ण अनुसन्धान गर्न निर्देशन दिएको र पीडितहरूको सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
उद्दार कार्य जारी
रेल्वे विभागले घटनास्थलमा उद्धार कार्य तीव्र बनाएको छ। मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि रेलवे प्रशासनले तयारी गरिरहेको छ। दुर्घटनाको कारणबारे विस्तृत छानबिन भइरहेको छ।
सुरक्षा प्रबन्धमा प्रश्न
यस घटनाले रेलवे सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। यात्रु सुरक्षालाई अझ प्राथमिकतामा राख्नुपर्ने आवाज बलियो हुँदै गएको छ। आगामी दिनमा यस्ता दुर्घटनाबाट जोगिन रेलवे व्यवस्थापनले आपत्कालीन अवस्थाका लागि विशेष योजना बनाउने अपेक्षा गरिएको छ।