तस्बिरहरूमा कोरोना भाइरस (विषाणु)का स्वरूप कतै गोलो त कतै बेरिएको लामो पनि देखिन्छ ? वास्तविक स्वरूप कस्तो हुन्छ ?
यो कोभिड–१९ भाइरस (विषाणु ) गोलो आकारको हुन्छ। जसभित्र चित्रमा देखाइएको जस्ता संरचनात्मक र गैर संरचनात्मक आणुवंशिक तत्वहरू बेरिएका लामाजस्ता पनि देखिने हुन्छन्।
भाइरस किन म्युटेसन हुन्छ ? कोरोना भाइरसको उत्परिवर्तन (म्युटेसन) हुने अवधि कति हो ?
आरएनए भाइरसको आणुवंशिक तत्वहरूमा विभिन्न जेनेरेसनमा परिवर्तन भइरहन्छ। जति बढी प्रशारण भयो त्यति धेरै उत्परिवर्तन हुने सम्भावना रहन्छ।
भाइरस उत्परिवर्तन (म्युटेसन) हुने क्रममा पुरानो भाइरसबाट वंशाणुगत गुणहरू पनि लिन्छ कि हराएर जान्छ ?
म्युटेसनले भाइरसको संक्रमण र रोग निम्त्याउने क्षमतामा खासै प्रभाव पार्दैन। तर, परिवर्तनहरू भाइरसको आनुवंशिक सामग्रीमा कहाँ अवस्थित छन् भन्नेमा निर्भर गर्छ। भाइरसको गुणलाई असर गर्न सक्छ।
वंशाणु गुण हराउँदै गएको अवस्थामा भाइरस पनि शक्तिहीन हुने संभावना हुन्छ कि हुँदैन ?
वंशाणु गुण परिवर्तन हुँदै गएको अवस्थामा भाइरस पनि शक्तिहीन हुने वा अझ बढी शक्तिशाली हुने संभावना रहन्छ।
जिनोम सिक्वेन्सिङ भनेको के हो ? यो गर्नु कत्तिको आवश्यकता छ ?
भाइरस निर्माणको पूर्णता विभिन्न अणुवंशिक तत्वहरूको र अन्य अवयवहरूको समिश्रणले हुन्छ। अतः भाइरसमा कुन– कुन अणुवंशिक तत्वहरू अन्य अवयवहरूको समिश्रण(एरेन्जमेन्ट अफ न्युक्लिक एसिडस) कस्तो छ ? परिवर्तित छ कि उही पुरानै छ भन्ने जानकारीका लागि सिक्वेन्सिङ गर्नु जरुरी हुन्छ।
कोरोना भाइरसका विभिन्न भेरियन्टहरू सार्वजनिक भइरहेका बेला नेपालमै पनि जिनोम सिक्वेन्सिङ गर्न सकिन्थ्यो नि ?
त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयका साथै निजी र सरकारी दुई÷दुईवटा प्रयोगशालामा भाइरसको अणुवंशिक तत्वहरूको सिक्वेन्सिङ गर्ने उपकरण छन्। सो कार्य गर्न माइक्रो वायोलोजिष्ट भाइरोलोजिष्ट, मलिकुलर वायोलोजिष्ट जस्ता जनशक्ति आवश्यक पर्छ। सरकारी क्षेत्रमा उचित दरबन्दी र अवसरको अभावमा विदेश पलायन हुन बाध्य छन्। नेपालमै पनि जिनोम सिक्वेन्सिङ गर्न सकिन्थ्यो। सरकारले उपयुक्त वातावरण मिलाएमा अहिले पनि सिक्वेन्सिङ गर्न सकिन्छ।
स्वदेशमै रहेको जनशक्ति र पूर्वाधारको उपयोग नगरी भारत, हङकङका प्रयोगशालाहरूमा लैजानुको कारण के होला ?
सरकारका विभिन्न निकायमा उत्तरदायित्व नभएका कारण नै बाहिरी मुलुकका प्रयोगशालामा लगिएको हो कि भन्ने लाग्छ।
कोरोना भाइरसका भेरियन्टको पहिचान कति समयमा गरिरहनु आवश्यक देख्नु हुन्छ ?
हरेक प्रदेश तथा पालिकामा भाइरसको भेरियन्टको पहिचान हरेक महिनामा गर्नु आवश्यक छ। किनभने, हरेक महिना भाइरसको रोग संक्रमण गर्ने क्षमता वृद्धि भई समुदायमा व्यापक फैलन सक्ने संभावना हुन्छ। अहिलेको अवस्थामा हरेक महिनामा राष्ट्रिय प्रतिनिधित्व हुने गरी १०÷१५ वटा भाइरसका नमुनाको अणुवंशिक तत्वहरूको सिक्वेन्सिङ गर्नुपर्छ। भाइरसको उत्परिवर्तनवारे जानकारी लिइ रोग नियन्त्रण नीति तथा प्रतिकार्य गरी नै रहनुपर्छ।
– प्राध्यापक तथा वरिष्ठ सूक्ष्म जीव विज्ञान विज्ञ डा.प्रकाश घिमिरेसँगको कुराकानीअन्नपूर्णबाट


