Thursday, May 14, 2026
Homeराजनीतिप्रधानमन्त्री ओलीको स्पेन भ्रमणले नेपाल–संयुक्त राष्ट्र र युरोपेली मुलुकसँगको सम्बन्ध मजबुत

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणले नेपाल–संयुक्त राष्ट्र र युरोपेली मुलुकसँगको सम्बन्ध मजबुत

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागिताले नेपाल–संयुक्त राष्ट्रसंघबीचको सहकार्य थप मजबुत बनेको छ भने स्पेनसहितका युरोपेली मुलुकहरूसँगको सम्बन्ध सुदृढ गर्न सहयोग पुगेको स्पष्ट भएको छ।

प्रधानमन्त्री ओलीको असार १६ देखि १९ गतेसम्मको भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले उक्त भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको बताए।

उनले भने, “सम्मेलनका क्रममा प्रधानमन्त्रीले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका राष्ट्रहरूका नेताहरूसँग भएका भेटघाटहरूले आपसी सम्बन्ध सुदृढ बनाएको छ। नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा पनि यसले सहयोग पुर्‍याएको छ।”

सचिव राईले प्रधानमन्त्रीको सक्रियताले अतिकम विकसित मुलुकहरूको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा धारणा प्रस्तुत गरिएको र नेपालको दिगो विकास तथा स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय सहयोगको माग गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले स्पेनको व्यावसायिक समुदाय तथा प्रवासी नेपालीहरूसँग अन्तरक्रियामा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा नेपालमा लगानी गर्न आह्वान गरेका थिए। सम्मेलनमा व्यक्त प्रतिबद्धता कार्यान्वयन गर्न ठोस कदम चाल्न र वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न उनले आग्रह गरेका थिए।

इजिप्टका प्रधानमन्त्रीसँगको भेटमा ओलीले हमासद्वारा बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै रिहाइका लागि निरन्तर पहल गर्न आग्रह गरेका थिए।

परराष्ट्र सचिव राईले भने, “नेपालप्रति अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सद्भाव छ, विशेषगरी युरोपेली मुलुकहरूले गहिरो सद्भाव राख्छन्। यस्तो सद्भावलाई नेपालको प्रतिष्ठा अभिवृद्धि र आर्थिक समृद्धिमा उपयोग गर्न यस्ता भ्रमणहरू महत्त्वपूर्ण अवसर हुन्।”

उनका अनुसार, नेपाल अतिकम विकसित ४६ मुलुकहरूको अध्यक्ष राष्ट्रका रूपमा आफैंमा नै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली स्थानमा रहेको छ। सम्मेलनले आगामी दशकभित्र दिगो विकास लक्ष्य पूरा गर्न आवश्यक आर्थिक सहयोग जुटाउने विषयमा केन्द्रित रहेको र त्यस सन्देशलाई मुखर बनाउन नेपाल सफल भएको उनले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका