काठमाडाैं। जेन–जी आन्दोलन दमनबारे छानबिन गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ।
आइतबार बसेको आयोग बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो।
आयोगले अनुसन्धानको दायरामा रहेका उनीहरूको विदेश भ्रमण रोक लगाउन र आवश्यक भए आयोगमा उपस्थित हुनुपर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।
गत भदौ २३ गतेको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो। प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गरेका छन्।



