Monday, February 17, 2025
Homeसामाचारथप १७ खाद्यवस्तुको गुणस्तर तोकिँदै

थप १७ खाद्यवस्तुको गुणस्तर तोकिँदै

सिमी, बकुला, बोडी, राजमा, केराउ, गहत, मस्याङ, आइसक्रिम, फ्रोजन डेजर्ट, खुवा, छुर्पी, डेरी ह्वाइट्नर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता र महको गुणस्तर तोक्न लागिएको हो

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दाल, मह, आइसक्रिमलगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, दालमोठ, भुजिया, पुष्टकारी र गुदपाकको गुणस्तर मापदण्ड तोकेको विभागले थप १७ वस्तुको मापदण्ड निर्धारण गर्न लागेको हो ।

यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा प्राविधिक समितिले काम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । केही वस्तुको मापदण्ड प्राविधिक समितिबाट स्वीकृत भइसकेको छ । केहीको भने स्वीकृत हुने क्रममा रहेको विभागले बताएको छ ।

‘विगतमा खाद्यान्न भनेर मापदण्ड बन्यो । तर वस्तुगत रूपमा छुट्याइएको छैन । महलगायत वस्तु निर्यात हुन्छन्, त्यही भएर अन्तर्राष्ट्रिय कोडेक्सको फर्म्याटमा मापदण्ड तोक्न लागिएको हो,’ महर्जनले भने । वस्तुगत रूपमै मापदण्ड हुँदा व्यापारमा पनि सहजीकरण हुने विभागको निष्कर्ष छ । गर्मी महिना सुरु भएसँगै आइसक्रिमको खपत पनि बढ्छ । यद्यपि यसको मापदण्ड निर्धारण गरिएको छैन । विभागले महको पहिलो पटक गुणस्तर निर्धारण गर्न लागेको हो । महबारे विगतमा पनि मापदण्ड बनाइएको छ । सरकारले महलाई तुलनात्मक वस्तुमा समेत सूचीकृत गरेको छ । मह निर्यातसमेत हुने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरमा लैजान महको गुणस्तरलाई पुनः परिमार्जन गर्न लागिएको महर्जनले बताए ।

विभागको खाद्य स्तर निर्धारण कार्यक्रमअनुसार गेडा सिमी/सिमीको दाल, गेडा बकुला/बकुलाको दाल, गेडा बोडी तथा बोडीको दाल, गेडा राजमा/राजमाको दाल, गेडा केराउ/केराउको दाल, गहतको दाल, गेडा मस्याङ र आइसक्रिमको गुणस्तर तोक्न लागिएको छ । फ्रोजन डेजर्ट, खुवा/कुराउनी, छुर्पी, डेरी ह्वाइट्नर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता र महको गुणस्तर पनि तोकिँदै छ । विभागका अनुसार अनिवार्य गुणस्तर मापदण्ड मस्यौदा तयार गरी प्राविधिक विज्ञसहितको समितिमा छलफल भइरहेको छ ।

‘केही दालको गुणस्तर मापदण्ड सरकारले तोकेको छ । उपसचिवको संयोजकत्वमा रहेको गुणस्तर निर्धारणसम्बन्धी समितिले अध्ययन गरिरहेको छ,’ विभागका महानिर्देशक उपेन्द्र रायले भने, ‘प्रयोशालामा परीक्षण, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा छलफल भइरहेको छ ।’ प्राविधिक समितिबाट स्वीकृत भएपछि महानिर्देशकको संयोजकत्वमा गठित समितिमा छलफल हुन्छ । यसपछि कृषि तथा पशुपन्छी सचिवकहाँ छलफल हुन्छ । सचिवबाट स्वीकृत भएपछि मन्त्रिपरिषद्मा पेस हुने महानिर्देशक रायले जानकारी दिए । ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशन हुन्छ, त्यसपछि कानुनी आधार बन्छ,’ उनले भने । रायका अनुसार विगतमा १ सय ३१ वस्तुको मापदण्ड निर्धारण गरिएको थियो ।

खाद्यवस्तुको माग बढिरहेकाले मापदण्ड पनि बढाउँदै लगिएको विभागले जनाएको छ । हालै विभागले चिउरा, पुष्टकारी, गुदपाक, तेल तथा घिउमा टोटल पोलार मेटेरियल, दालमोठ र १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण गरेको थियो । यी वस्तुमा अनुगमन भए पनि अखाद्य वस्तु भए/नभएको, ढुसी र रङको मात्रै निरीक्षण हुन्थ्यो । गुणस्तर निर्धारण भएपछि वस्तुगत रूपमै निरीक्षण गर्न सहज भएको विभागको भनाइ छ ।

चिउरामा फोहोर, अन्य गन्ध एवं ढुसी कीरा, कीराको निष्कासित पदार्थ तथा अन्य हानिकारक पदार्थ हुनुहुँदैन । यसमा कुनै पनि बाह्य रङ प्रयोग गर्न नपाइने उल्लेख छ । दालमोठमा पनि प्राकृतिकबाहेक अन्य रङ प्रयोग गर्न पाइँदैन । भुजियामा पनि प्राकृतिकबाहेक अन्य रङ प्रयोग गर्न नपाइने उल्लेख छ । दालमोठ, भुजिया तथा मिक्स दालमोठ सफा, सुक्खा, उपयुक्त रङ, स्वाद, स्वाभाविक बास्ना भएको र खादा झुरुम्म गर्ने हुनुपर्नेछ । प्याकेजिङ तथा लेबलिङका क्रममा सफा र सुक्खा, खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नुपर्ने उल्लेख छ । तर विभागले मापदण्ड तोके पनि कार्यान्वयन नगरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । ‘हरेक खाद्यवस्तुमा समस्या देखिन्छ । विभागले गुणस्तर निर्धारण गरेको बताए पनि नाम मात्रै भयो,’ उनले भने, ‘अरू खाद्यको कुरा छाडौं, दैनिक उपभोग हुने पानीमै समस्या छ । खै कहाँ छ विभागको मापदण्ड ?’

कान्तिपुरबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका