Thursday, July 2, 2026
Homeअर्थ र ब्यापारडिजेल सस्तो भएपछि लामो दूरीका सार्वजनिक सवारीको भाडा २ प्रतिशत घट्यो

डिजेल सस्तो भएपछि लामो दूरीका सार्वजनिक सवारीको भाडा २ प्रतिशत घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर २ प्रतिशतले घटाएको छ।

नेपाल आयल निगमले असार १७ गते मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४२ रुपैयाँले घटाएपछि विभागले स्वचालित भाडा समायोजन प्रणालीअनुसार नयाँ भाडादर निर्धारण गरेको हो।

विभागले बिहीबार सूचना जारी गर्दै परिमार्जित भाडादर आजैदेखि देशभरका राष्ट्रिय रुटमा सञ्चालन हुने लामो दूरीका सार्वजनिक तथा मालवाहक सवारीसाधनमा लागू भएको जनाएको छ।

विभागका अनुसार यसअघि भाडा निर्धारण गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो। हाल डिजेलको मूल्य घटेर प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि भाडादर समायोजन गरिएको हो।

यसअघि २०८३ वैशाख १२ गते इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक तथा मालवाहक सवारीको भाडा ५ प्रतिशतले बढाइएको थियो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य घटेपछि विभागले वैज्ञानिक भाडा निर्धारण प्रणालीअनुसार २ प्रतिशत भाडा घटाएको पुष्टि गरेका छन्।

विभागका अनुसार नयाँ भाडादर दुई वा दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने राष्ट्रिय रुटका यात्रुवाहक र मालवाहक सवारीसाधनमा मात्र लागू हुनेछ। एउटै प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीको भाडा भने सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले इन्धनको नयाँ मूल्यका आधारमा छुट्टै निर्धारण गर्ने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका