Friday, May 8, 2026
Homeअर्थ र ब्यापारएक महिनामै खाने तेलको भाउ आकासियो, प्रतिलिटर २०–५० रुपैयाँसम्म वृद्धि

एक महिनामै खाने तेलको भाउ आकासियो, प्रतिलिटर २०–५० रुपैयाँसम्म वृद्धि

काठमाडौँ । पछिल्लो एक महिनामा खाना पकाउने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको छ। पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै व्यापारीहरूले प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन्।

माघ अन्तिम सातातिर प्रतिलिटर २५० देखि २७५ रुपैयाँमा पाइने सनफ्लावर तेल फागुन मध्यसम्म आइपुग्दा प्रतिलिटर २९० रुपैयाँभन्दा माथि पुगेको छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने बजारभन्दा केही सस्तोमा तेल बिक्री गरिरहेको जनाएको छ। कम्पनीको वेबसाइटअनुसार भटमासको तेल प्रतिलिटर २४० रुपैयाँ, सनफ्लावर तेल २७५ रुपैयाँ र विभिन्न ब्रान्डका तोरीका तेल २५५ देखि ३६० रुपैयाँसम्ममा उपलब्ध छन्। तर निजी क्षेत्रका खुद्रा पसलहरूमा भने मूल्य वृद्धि निकै उच्च देखिएको छ।

नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य वृद्धि र ढुवानी मार्गमा देखिएको अवरोधले तेलको मूल्य बढेको हो। उनका अनुसार अर्जेन्टिना र इन्डोनेसियाबाट कच्चा तेल बोकेर आउने ठूला जहाजहरू ढुवानी मार्गमा अवरोधका कारण बाटोमै रोकिएका छन्। यसले आपूर्ति घटाउँदा ढुवानी खर्चसमेत बढेको उनले बताए।

अग्रवालका अनुसार धान र चामल भारतबाट सहजै आयात हुने भए पनि खाने तेलका लागि नेपालले तेस्रो मुलुकमा निर्भर रहनुपर्ने बाध्यता छ। अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धका कारण ढुवानी सेवा प्रभावित हुँदा कच्चा पदार्थको मूल्य बढेको र त्यसको असर नेपाली बजारमा परेको उनले बताए।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा पाम तेल प्रतिटन ९५० देखि १ हजार डलरसम्म कारोबार भइरहेको छ। सोयाबिन तेल प्रतिटन ९८० देखि १ हजार ५० डलर र सूर्यमुखी तेल प्रतिटन ९०० देखि ९५० डलरको हाराहारीमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कअनुसार घ्यू तथा तेलको मूल्यमा ७.६१ प्रतिशत वृद्धि भएको छ, फागुनमा यो वृद्धि दर अझै बढ्ने अनुमान गरिएको छ।

यसैबीच, बजारमा खाने तेलको अनियन्त्रित मूल्यवृद्धि र कालोबजारीको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्र बनाएको छ। विभागका निर्देशक नरहरि तिवारीले मूल्यवृद्धिको वास्तविक कारण बुझ्न सूक्ष्म अध्ययन र सत्यापन भइरहेको जानकारी दिए।

उनका अनुसार बजारमा खाने तेलको मौज्दात पर्याप्त भए पनि कृत्रिम अभाव सिर्जना गर्ने वा मिलेमतोमा मूल्य बढाउनेहरूलाई कारबाही गरिने चेतावनी दिइएको छ। विभागले विशेषगरी तेलको मूल्य र मौज्दातलाई केन्द्रित गरेर बजार निरीक्षण गरिरहेको जनाएको छ।

उपभोक्ता अधिकारकर्मीहरूले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुभन्दा पहिल्यै मौज्दात रहेको तेललाई पनि नयाँ मूल्य तोकेर बेच्ने प्रवृत्ति बढेको भन्दै सरकारले कडा कदम चाल्नुपर्ने माग गरेका छन्।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा (माघ मसान्तसम्म) नेपालले ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको खाने तेल आयात गरेको छ। यसमध्ये ७८ अर्ब १९ करोड ६२ लाख रुपैयाँ बराबरको निर्यात भएको उल्लेख छ।

नेपालमा भटमास, सूर्यमुखी, पाम, जैतुन र तोरीलगायत विभिन्न प्रकारका तेल अर्जेन्टिना, इन्डोनेसिया, युक्रेन, चीन, ब्राजिल, थाइल्याण्ड, भारत, कुवेत र ओमानलगायत मुलुकबाट आयात हुँदै आएको छ।

 

 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका