काठमाडौं : कोभिड संक्रमणबाट बिरामी भएका विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ। राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ४ बजेर २५ मिनेटमा उनको निधन भएको हो।
कोभिड–१९ बाट संक्रमित भएका थापाको उपचारका लागि पहिलो चरणमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि जेठ १४ गते मेडिसिटीमा लगी भेन्टिलेटर र ‘इक्मो’ प्रविधिबाट उपचार भइरहेको थियो।
मेडिसिटी अस्पतालद्वारा मंगलबार साँझ जारी विज्ञप्तिअनुसार उपचारकै क्रममा थापाको सोमबार गरिएको पीसीआर परीक्षणमा निगेटिभ आएको थियो। ‘शरीरका अंगहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य स्थितिमा भने परिवर्तन आउन सकेको थिएन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद पनि उहाँको अवस्था सुदृढ हुन सकेन।’
थापाको स्वास्थ्य लाभका लागि स्वदेशदेखि विभिन्न मुलुकका लाखौं शुभेच्छुकले प्रार्थना गरेका थिए। सामाजिक सञ्जाल ट्वीटरदेखि फेसबुकका वालमा उनको स्वाथ्य लाभका लाखौं सन्देश भरिएका थिए। थापाको उपचार सहयोगका लागि लाखौं शुभेच्छुकले स्वःस्फूर्त रूपमा चन्दा संकलन अभियानसमेत गरेका थिए। उनको उपचारका लागि २४ घण्टामै ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको थियो।
विभिन्न मुलुकमा बस्ने नेपालीहरूबाट गोफन्डमीमा खोलिएको खातामा २२ हजार २ सय अमेरिकी डलर र नेपाली बैंकको खातामार्फत २६ लाख ५० हजार रुपैयाँ संकलन भएको थापाको परिवारद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार थापाप्रति सद्भाव व्यक्त गर्ने र आर्थिक सहयोग गर्नेहरू पार्टीका कार्यकर्ता, शुभेच्छुक र समर्थक बाहेक पनि हजारौं संख्यामा छन्। पार्टीसँग नजोडिएका, अपरिचित र विभिन्न क्षेत्रमा कार्यरत सर्वसाधारणले मन खोलेर उनको स्वास्थ्य लाभको कामना गर्नुका साथै उपचारका लागि आर्थिक संकलनमा साथ दिएका छन्।
नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएका थापाको निधनले सिंगो मुलुकले मुख्य गरी युवा पुस्ताले एउटा असल नेता गुमाएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। थापा युवा पुस्तामाझ वैकल्पिक नेताका रूपमा निक्कै लोकप्रिय मानिएका थिए।
थापाको परिवारले उनको अन्त्येष्टि साधारण तबरबाट पारिवारिक वातावरणमा सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेच्छुकको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
थापाको निधनको सन्देश सामाजिक सञ्जालमा फैलिएसँगै उनका समर्थक र शुभेच्छुक शोकमा डुबेका छन्। यसबाहेक विभिन्न क्षेत्रका प्रख्यात व्यवसायी र राजनीतिक दल र सम्बद्ध नेताहरूले पनि समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी ओलीले विज्ञप्ति जारी गरी थापाको निधनप्रति शोक व्यक्त गरेका छन्।
नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरेको छ। एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उनीप्रति श्रद्धाञ्जलिका साथ परिवारजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ।
यस्तै कांग्रेसले पनि शोक व्यक्त गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै एक उदयमान युवा नेताका रूपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएका छन्।
थापा नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेका एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ। यस्तै प्रकाशचन्द्र लोहनी, कमल थापा, गोकर्ण विष्टलगायत दर्जनौं नेता, उद्योगपति विनोद चौधरी, कलाकार हरिवंश आचार्यसहित सयौंले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरेका छन्।
विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिंगो पार्टी पंक्ति स्तब्ध भएको उल्लेख गरेको छ।
पार्टी केन्द्रीय समितिको मंगलबार बसेको बैठकले पूर्वसंयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले विज्ञप्ति जारी गरी नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।
बैठकले थापाको स्मृति तथा सम्मानमा १३ औं दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पंक्ति र सदस्यहरूलाई आह्वान गरिएको छ। ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउनेसमेत उक्त पार्टीले निर्णय गरेको छ।
‘खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ,’ विज्ञप्तिमा भनिएको छ, ‘थापाले अंगाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्नेछ।’
पाण्डेका अनुसार थापामा नेपाली राजनीतिमा एउटा वैकल्पिक स्थान हुनुपर्छ भन्ने सोच थियो। थापाको यही सोचबाट प्रभावित भएर पाण्डेसहित दर्जनौं व्यक्ति उनको अभियानसँग पार्टीमा जोडिएका थिए। थापा युवावर्गलाई बढी रुचाउने र यो शक्तिलाई राजनीतिमा अगाडि बढाउने सोचका धनी व्यक्तित्व भएको पाण्डेको भनाइ छ।
‘पुराना राजनीतिक दलका कामकाजबाट दिक्क भएका थापाले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण गर्नुपर्छ भनेर अभियान चलाएका थिए। त्यही अभियानका कारण विवेकशील नेपाली दल स्थापना भएको थियो’, पाण्डेले भने।
वेब डिजाइनरदेखि नेतासम्म
राजधानीको बूढानीलकण्ठबाट १२ कक्षासम्म अध्ययन गरेका थापा छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका गएका थिए। तर, उनले खगोल तथा भौतिकशास्त्री छाडेर वेब डिजाइनरको पढाइ सकेर नेपाल फर्केका थिए। थापा अमेरिका रहँदै भौतिक संसारबाट विरक्त भएर बौद्ध भिक्षु बन्ने योजनासमेत बनाएका थिए। तर, त्यसमा पनि सफल हुन सकेनन्।
अमेरिकाबाट फर्केपछि उनले उद्यमशीलता र समाजसेवामा हात हालेका थिए। सूचना प्रविधिसम्बन्धी कम्पनी सञ्चालन गरी उद्यमी बन्ने सोचका साथ कफी खेतीमा पनि लगानी गरेका थिए। विभिन्न मुलुकमा अध्ययन गर्ने थापासहित फर्किएका युवाहरूले ‘नेपालका लागि उद्योगी’ नामक अभियानको सुरुवात पनि भएको थियो। उक्त अभियानमा सयौं नेपाली युवाले सहभागिता जनाएका थिए।
उद्यमशीलता र समाजसेवामा सक्रिय रहेका समयमा नेपालको अस्थिर राजनीतिचरम उत्कर्षमा थियो। पहिलो संविधानसभा गठन भए पनि संविधान बनेको थिएन। त्यो बेला विभिन्न समूहले दैनिकजसो बन्द हडताल गर्दै आएका थिए। यो बन्द हडतालबाट उनी दिक्क भएका थिए। २०६५ मा केही युवासँग सहकार्य गरी थापाले सामाजिक सञ्जालमार्फत ‘बन्दविरुद्ध अभियान’ भनेर एउटा समूह सञ्चालनमा ल्याए। यो अभियानमा सहभागी युवाहरू बन्द हडतालको दिन ‘नेपाल खुला छ’ भन्ने व्यानरसहित सवारी साधन चलाएर हिँड्न थाले। माइतीघर मण्डला होस् वा बानेश्वरमा प्लेकार्ड बोकेर शान्तिपूर्ण अभियान गर्ने उनको दैनिकी नै बनेको थियो।
‘स्माइली’ चिह्नसहित नेपाल बन्दविरुद्ध अभियान निक्कै चर्चित भएको थियो। उनको नेतृत्वमा लैगिङ्ग हिंसा, दलित, जनजाति, मधेस मुद्दालगायतमा ठूलो अभियान सञ्चालन भएको थियो। डाक्टर गोविन्द केसीको अभियानमा पनि थापा समूहको ठूलो सहभागिता हुन्थ्यो।
यसको एक वर्षपछि थापाको अगुवाईमा युवाहरूको समूहले ‘परिवर्तनका लागि हामी नेपाली एक’ अभियान सुरु गरेको थियो। त्यस बेलासम्म संविधान निर्माण भएको थिएन। थापाको यो अभियानले सामाजिक सञ्जालदेखि सडकसम्म ‘ज्याला त पूरा लियांै, अब संविधान देऊ’ भन्ने नारासहितको प्लेकार्डसहित राजधानीमा विभिन्न चरणमा अभियान सञ्चालन गरे।
यो नारा र अभियानले पनि समाजमा परिवर्तन गर्न समस्या देखिएपछि उनले राजनीतिमा प्रवेश गर्ने सोच बनाएका थिए। यसैको प्रतिफल थियो, २०६९ सालमा उनको अगुवाईमा विवेकशील नेपाली समूह बन्यो। २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा विवेकशील नेपालीमार्फत राजधानीका ४ वटा क्षेत्रबाट स्वतन्त्र रूपमा आफ्ना उम्मेदवारसमेत उठाएका थिए।
उनी आफैं पनि क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए। तर, यो निर्वाचनमा उनले ठूलो मत प्राप्त गर्न सकेनन्। दोस्रो संविधानसभाको निर्वाचनपछि २०७१ सालमा थापाकै अगुवाईमा विवेकशील नेपाली दल राजनीतिक पार्टीको रूपमा गठन गरियो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनको पार्टी पनि सहभागी भएको थियो। काठमाडौं महानगरपालिकामा युवा महिला रञ्जु दर्शनालाई मेयरको प्रतिस्पर्धी बनाएपछि उनको पार्टीले निक्कै चर्चा पाएको थियो। तर, यो निर्वाचनमा पनि उनको पार्टीले खासै सफलता हासिल गर्न सकेन।
अन्ततः वैकल्पिक राजनीतिको धारमा होमिएको अर्कोसाझा पार्टीसँग विवेकशील पार्टीलाई एकाकार गरेका थिए। एकाकारपछि पार्टीको नाम विवेकशील साझा बनेको थियो। यो पार्टीमा संयोजकद्वय रवीन्द्र मिश्र र थापा बनेका थिए।
२०७४ मा सम्पन्न आम निर्वाचनमा यो पार्टीले सहभागिता जनायो। तर, खासै सफलता प्राप्त गर्न सकेन। जसका कारण पार्टीमा आन्तरिक किचलो सुरु भयो र एकाकार भएको करिब १६ महिनापछि फुट्न पुग्यो। थापाले पुनः विवेकशील पार्टीका नेता बनेर दुई कार्यकाल सम्पन्न गरी आफ्ना सहकर्मी मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरे। गत मंसिरमा विवेकशील र साझा दल फेरि एकाकार भएर विवेकशील साझा दल गठन भएको थियो। यसपछि उनी राजनीतिमा निक्कै कम सक्रिय थिए। अन्नपूर्णबाट