वासिङ्टन डिसी: ३४ वर्षीय डोनाल्ड ट्रम्पले सन् १९८० मा अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा भनेका थिए, “राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन्।” ४५ वर्षपछि, ती नै ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बन्न लागेका छन्।
आज नेपाली समयअनुसार राति करिब १० बजे अमेरिकी संसद् क्यापिटल हिलमा डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। शपथका क्रममा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ, जुन उनकी पत्नी मेलानियाले समाउनेछिन्।
शपथपछि ट्रम्पले आफ्नो उद्घाटन भाषण दिनेछन्। अघिल्लो कार्यकालको शपथ ग्रहणमा उनले १७ मिनेट लामो भाषण गरेका थिए। यसपटक पनि उनलाई सम्बोधनका लागि समय दिइनेछ। त्यसपछि क्यापिटल हिलमा सांगीतिक कार्यक्रम आयोजना हुनेछ। हलिउडका धेरै कलाकारहरूले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेकाले, यसपटक कसले प्रस्तुति दिनेछ भन्ने अहिलेसम्म खुलाइएको छैन।
कार्यक्रमपछि, ट्रम्पले सेचुरी हलमा सांसदहरूसँग खाजा खानेछन्। खाजाको व्यवस्थापन सामान्यतया राष्ट्रपति र उपराष्ट्रपतिको परिवारले गर्ने परम्परा रहेको छ। त्यसपछि क्यापिटल हिलदेखि ह्वाइट हाउससम्म एक विशेष र्याली निकालिनेछ, जसको नेतृत्व राष्ट्रपति ट्रम्प आफैंले गर्नेछन्।
राति, ट्रम्पले आफ्ना निकट सहयोगीहरूसँग पार्टीमा सहभागी हुनेछन्। यो पार्टी मेटा प्रमुख मार्क जुकरबर्गले आयोजना गर्ने अनुमान गरिएको छ। जुकरबर्गले आफ्नो सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप यो पार्टी आयोजना गर्न लागेका हुन्। २०१७ मा ट्रम्पको पहिलो कार्यकालका बेला जुकरबर्गले उनलाई फेसबुकबाट प्रतिबन्ध लगाएका थिए।
अमेरिकी राष्ट्रपति पदभार ग्रहण गरेपछि ह्वाइट हाउसमा बस्नुपर्ने परम्परा छ। यो निवास अमेरिकी राष्ट्रपतिको आधिकारिक कार्यालय पनि हो। जर्ज वाशिंगटन ह्वाइट हाउसमा नबस्ने एक मात्र अमेरिकी राष्ट्रपति थिए। यसको निर्माण सन् १७९२ मा सुरु भएको थियो र सन् १८०० मा सम्पन्न भयो।
जोन एडम्स ह्वाइट हाउसमा बस्ने पहिलो राष्ट्रपति थिए। परम्परागत रूपमा, राष्ट्रपति शपथ समारोहका लागि ह्वाइट हाउसबाट निस्कने चलन छ। तर, २०१७ मा ट्रम्पले त्यसो गरेनन्। शपथपछि मात्र उनले ह्वाइट हाउस प्रवेश गरेका थिए। यसपटक पनि उनी शपथ लिएपछि मात्र ह्वाइट हाउस प्रवेश गर्नेछन्।