Saturday, November 8, 2025
Homeअन्तराष्ट्रियअफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० भन्दा बढी पुग्यो (तस्बिर सहित )

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० भन्दा बढी पुग्यो (तस्बिर सहित )

काठमाडौं, १६ भदौ- अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीका अनुसार पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ६०० नाघेको छ। अफगानिस्तानको अनलाइन मिडिया एरियाना न्युज का अनुसार भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले अझै धेरै व्यक्तिको मृत्यु भएको अनुमान गरिए पनि उद्धार कार्य कठिनाइका कारण पूरा तथ्यांक सार्वजनिक हुन सकेको छैन।

प्रवक्ता कानीले सोमबार बिहान जानकारी दिँदै उत्तरपूर्वी कुनार र नान्गारहार प्रान्तमा गएको ६.० म्याग्निच्युडको भूकम्प तथा पराकम्पनका कारण ठूलो जनधनको क्षति भएको बताए।

उनका अनुसार कुनार प्रान्तमा मात्रै ६१० जनाको मृत्यु भइसकेको छ भने करिब १,३०० जना घाइते भएका छन्। धेरै घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। त्यस्तै, नान्गारहार प्रान्तमा १२ जनाको मृत्यु, २५५ जना घाइते र दर्जनौं घर क्षतिग्रस्त भएको विवरण सार्वजनिक गरिएको छ।

प्रवक्ता कानीले गृहमन्त्री सिराजुद्दीन हक्कानीको निर्देशनअनुसार प्रान्तीय गभर्नर र प्रहरी कमाण्डरलाई प्रभावित क्षेत्रमा द्रुतगतिमा पुगेर उद्धार तथा राहत कार्य अघि बढाउन आदेश दिइएको जानकारी दिए।

विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग पुर्‍याउन सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, यातायात, खाद्य आपूर्ति र अन्य सेवा टोलीहरू परिचालन गरिएको छ।

इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका प्रवक्ता जबिउल्लाह मुजाहिदले काबुलसहित नजिकैका प्रान्तबाट राहत टोलीहरू पठाइरहेको बताए। उनका अनुसार, उद्धारका लागि उपलब्ध सबै स्रोत परिचालन गरिएका छन् र अपरेसन निरन्तर जारी छ।

स्थानीय रिपोर्टअनुसार भूकम्पपछि पहिरो खसेर धेरै स्थानमा सडक अवरुद्ध भएका छन् र कतिपय क्षेत्रमा पैदल मात्र पुग्न सकिने अवस्था बनेको छ। मुजाहिदका अनुसार, प्रभावित क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ र उद्धार टोलीले तत्काल राहत उपलब्ध गराइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका