Monday, February 17, 2025
Homeअर्थ र ब्यापारअनुमतिबिना बिमा कम्पनीले हकप्रद सेयर निकाल्न नपाउने

अनुमतिबिना बिमा कम्पनीले हकप्रद सेयर निकाल्न नपाउने

काठमाडौँ — बिमा समितिको पूर्वस्वीकृतिबिना बिमा कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने भएका छन् । मंगलबार बिमा समितिले बिमा कम्पनी र पुनर्बिमा कम्पनीलाई यससम्बन्धी निर्देशन दिएको हो ।

बिमा कम्पनीहरूमा मनपरी रूपमा हकप्रद सेयर निष्कासन गर्ने प्रवृत्ति बढेपछि उक्त निर्देशन दिइएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । ‘हकप्रद सेयरले कम्पनीको पुँजीगत संरचना नै परिवर्तन हुन्छ,’ उनले भने, ‘त्यसको जानकारी नियामक निकायलाई हुनुपर्छ । सोही कारण कम्पनीलाई निर्देशन जारी गरिएको हो ।’

यसअघि यस्तो व्यवस्था थिएन । बिमा कम्पनीको सञ्चालक समितिले गरेको निर्णय र साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार अब बिमा कम्पनीले हकप्रद सेयर निष्कासनसम्बन्धी विषय सञ्चालक समितिबाट निर्णय भएर साधारणसभामा लैजानुअघि बिमा समितिबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ । समितिबाट अनुमति पाएपछि मात्र कम्पनीले उक्त प्रस्ताव साधारणसभामा पेस गर्नुपर्नेछ ।

आफ्नो कार्यक्षेत्रअन्तर्गतका कम्पनीलाई सेयर निष्कासन अनुमति प्रदान गर्नुअघि बिमा समितिबाट अनुमति लिए, नलिएकोबारे सोधखोज गर्न पनि धितोपत्र बोर्डलाई भनिएको छ । समितिले सोमबार पत्र लेखेर बोर्डलाई उक्त आग्रह गरेको हो । गत साता अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनको सूचना सार्वजनिक भएको अघिल्लो दिन बजारमा ठूलो कारोबार भएको थियो । भित्री सूचना चुहाएर कारोबार भएको भन्दै व्यापक जनगुनासो आएको छ । सोही कारण अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समिति सबैले सो कारोबार सम्बन्धमा चासो दिएका छन् ।

अर्थ मन्त्रालयले उक्त कारोबारबारे अध्ययन गरी अविलम्ब जानकारी दिन धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । सोही निर्देशनबमोजिम धितोपत्र बोर्डले सोमबार नै एक अध्ययन समिति गठन गरेको छ । यही कारण अजोड इन्स्योरेन्सले घोषणा गरेको ५० प्रतिशत हकप्रद सेयर निष्कासनमा समस्या पर्ने देखिएको छ । कम्पनीले नियामक निकायलाई जानकारी नै नदिएर हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै बिमा समितिले सोमबार नै कम्पनीलाई पत्र काटेको हो ।

नियामक निकायबाट स्वीकृति लिएर मात्र सेयर निष्कासनसम्बन्धी सूचना सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरेकाले सचेत गराइएको समितिका अध्यक्ष सिलवालले बताए । ‘हामीबाट अनुमति लिएर सञ्चालन भएका संस्थाले पुँजी वृद्धिसम्बन्धी जुनसुकै निर्णय सार्वजनिक गर्नुअघि बिमा समितिलाई जानकारी हुनुपर्छ,’ उनले भने, ‘अजोड इन्स्योरेन्सको सेयर निष्कासन सम्बन्धमा हालसम्म समितिलाई जानकारी छैन ।’ यसकारण कम्पनीले घोषणा गरेअनुसार हकप्रद सेयर जारी सम्बन्धमा अहिल्यै केही भन्न नसकिने उनले जानकारी दिए । ‘पहिले औपचारिक रूपमा समितिमा आउनुपर्‍यो । त्यसपछि समितिले अध्ययन गर्छ । सबै पक्षबाट उपयुक्त देखिए अनुमति पाउँछ, नत्र पाउँदैन ।’

हाल १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र १ वटा पुनर्बिमा कम्पनी छन् । समितिले ती सबै कम्पनीलाई निर्देशन जारी गरेको हो । गत मंगलबार कम्पनीले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने सूचना सार्वजनिक गर्‍यो । सोमबार मात्र उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो । सोमबार यो कम्पनीको धेरै सेयर कुमारी बैंक र कुमारी क्यापिटलले खरिद गरेको खुल्न आएको छ । यस्तो कारोबारलाई भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ । कानुनले यस्तो कारोबारलाई वञ्चित गरेको छ । यही कारण गत साता भएको अजोड इन्स्योरेन्सको कारोबारबारे सबैको चासो बढेको हो ।

अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने सूचना चैत १७ मा प्रकाशन भएको थियो । तर त्यसको एक दिनअघि नै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको थियो । यसको विवरण नेपाल स्टक एक्सचेन्जले चैत १९ मा बोर्डमा पेस गरेको बताइएको छ ।

कान्तिपुरबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका