Tuesday, June 9, 2026
Home Blog Page 731

इजरायल-हमास द्वन्द्वबारे फ्रान्स, जर्मनी र बेलायतद्वारा संयुक्त वक्तव्य जारी

0

काठमाडौं: फ्रान्स, जर्मनी र बेलायतका राष्ट्र प्रमुखहरूले मध्यपूर्वको अवस्थाबारे संयुक्त वक्तव्य जारी गरेका छन्।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “हामी फ्रान्स, जर्मनी र युनाइटेड किंगडमका नेताहरू हाम्रा सहयोगीहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविराम सम्झौतामा पुग्न र बन्धकहरूलाई रिहा गर्नको लागि गरेको कडा परिश्रमलाई स्वागत गर्दछौं। हामी युद्धविराम र तुरुन्तै वार्ता सुरु गर्न तमिम बिन हमाद अल थानी, राष्ट्रपति सिसी र जो बाइडेनको संयुक्त वक्तव्यको समर्थन गर्दछौं ।”

विज्ञप्तिमा लेखिएको छ, “अब ढिलाइ हुन सक्दैन भन्ने हाम्रो विश्वास छ। बढ्दो द्वन्द्व रोक्न सबै पक्षसँग मिलेर काम गरिरहेका छौं। तनाव कम गर्न र स्थायित्वको बाटो खोज्न कुनै कसर बाँकी राखिने छैन।”

तीन नेताले भने, “अब युद्ध अन्त्य हुनैपर्छ र हमासद्वारा बन्धक बनाइएका सबैलाई रिहा गरिनुपर्छ। गाजाका जनतालाई तत्काल सहयोग चाहिन्छ।”

थप भनिएको छ, “हामी क्षेत्रको बढ्दो तनावबाट चिन्तित छौं। हामी द्वन्द्व अन्त्य गर्न र क्षेत्रीय स्थायित्वका लागि एकजुट छौं। यस विषयमा हामी इरान र यसका सहयोगीहरूलाई हानि पुऱ्याउन सक्ने खालका आक्रमणहरू नगर्न आग्रह गर्न चाहन्छौं। यसले तनाव बढाउने मात्र होइन, युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतालाई पनि खतरामा पार्न सक्छ।”

जहाँसम्म इरान र उसका सहयोगीहरू छन्, यसमा लेखिएको छ, “शान्ति र स्थायित्वको यो अवसरलाई खतरामा पार्न तिनीहरू जिम्मेवार हुनेछन्। मध्यपूर्वमा थप तनावले कुनै पनि देशलाई फाइदा गर्दैन।”

 

इलन मस्कसँगको अन्तर्वार्तामा ट्रम्पले कमला ह्यारिस, किम जोङ उन र पुटिनबारे यस्तो भने

0

काठमाडौं: इलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका छन्। यस अन्तर्वार्तामा अहिलेसम्म मस्क र ट्रम्पले धेरै विषयमा कुरा गरेका छन् ।

अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार र उपराष्ट्रपति कमला ह्यारिसको बारेमा पनि कुरा गरे। उनले कमला ह्यारिसको आलोचना गरेका थिए ।

उनले डेमोक्र्याटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार बनेपछि ह्यारिसले आफूले अहिले दिएजस्तो अन्तर्वार्ता नदिएको बताए ।

इजरायलको मिसाइल रक्षा प्रणाली आइरन डोम सधैं यसको लागि सुरक्षा कवच भएको उनले बताए । ट्रम्पले भने, “हामीसँग किन आइरन डोम छैन ? इजरायलसँग छ।”

आइरन डोम छोटो दूरीका हतियारबाट हुने आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ। यो २००६ मा अमेरिकी सहयोगमा इजरायली कम्पनीहरूले निर्माण गरेका थिए।

ट्रम्पले आफूले पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलाई चिन्ने बताएका छन् ।

ट्रम्पले भने, “उनीहरू स्मार्ट छन्। जब उनीहरू (पुटिन र किम) कमला र सुतिरहेको जो (राष्ट्रपति जो बाइडेन) लाई देख्छन्, उनीहरू विश्वास गर्न सक्दैनन्।”

ट्रम्पले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न आग्रह गरेको तर पुटिनले नमानेको बताए ।

ट्रम्पले भने – यदि बाइडेन त्यहाँ नभएको भए रुसले युक्रेनमा आक्रमण गर्ने थिएन।

यसबारे मस्कले ट्रम्पलाई उनले सही कुरा भनेको बताएका छन् ।

ट्रम्पले भने, “म पुटिनसँग राम्रोसँग मिल्छु र उनी मलाई सम्मान गर्छन् ।” उनले पुटिनसँग बारम्बार कुरा गरेको पनि बताए ।

ट्रम्पले दाबी गरे, “त्यो (युक्रेन) उनको (पुटिनको) आँखाको तारा थियो। मैले उनलाई यो नगर्न भनेको थिएँ।”

एएफसी च्यालेन्ज लिग फुटबल: चर्च ब्वाइज भुटानको पारोसँग पराजित

0

काठमाडौं: एएफसी च्यालेन्ज लिगअन्तर्गतको खेलमा चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्याइजले अग्रता लिए पनि पारोसँग २–१ गोलले पराजित हुन पुग्यो।

पहिलो हाफ एक/एक गोलको बराबरीमा सकिएको खेलको ६६औं मिनेटमा पारोेले दोस्रो गोल गर्दै विजयी भएको हो।

खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरेका थिए। मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन। त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए।

खेलको ६६औं मिनेटमा पारो एफसीका विलियम ओपोकु ओसिइदुले गोल गर्दै पारो एफसीले २–१ को अग्रता दिलाउँदै टोलीलाई जित दिलाए।

बिजुलीको बक्यौता एक रुपैयाँ पनि छोड्नुहुन्न: गगन थापा

0

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले संविधान संशोधन गरेर संसदको अहिलेको आकार घटाउन सकिने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लगाएको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताए । उनले संविधान संशोधन गरेर अहिलेको संसदको आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताए ।
‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ’, उनले भने, ‘तर कतिपयले संविधान संशोधन गरेर प्रतिगमन वा पछाडि फर्कन लागेको हो ? भनेर प्रश्न गरिने गरिएको छ ।’

उनले संविधान संशोधन गरेर जम्बो संसदको आकार घटाउन सकिने बताए । ‘संसदको जम्बो आकार घटाउन सकिन्छ । समानुपातिक समावेशी बढाउन सकिन्छ’, थापाको भनाइ छ ।

थापाले उठाउन बाँकी बिजुलीको बक्यौतामा एक रुपैयाँ पनि छोड्न नहुने बताए ।

‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाले कसैलाई अप्ठ्यारो पार्न नहुने भन्दै भने, ‘विधिको शासन भनेको त्यही हो ।’

बङ्गलादेशका नेपाली विद्यार्थीको अवस्था के छ ? राजेन्द्र पाण्डे

0

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बङ्गलादेशमा रहेका झन्डै चार हजार नेपाली विद्यार्थीको अवस्थाबारेमा संसदमा सरकारलाई सोधेका छन्। साथै उनले ती नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याउने विषयमा सरकारको ध्यानाकर्षण समेत गराए।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले सोधे, ‘बङ्गलादेशमा एबीबीएस पढ्ने विद्यार्थीमात्रै चार हजार छन् । उनीहरूको अवस्था के छ ? उनीहरूलाई नेपाल ल्याउने विषयमा के भइरहेको छ ? परराष्ट्रमन्त्रीको ध्यान जाओस् ।’

उनले पृथ्वीराजमार्ग नजिकै रहेको त्रिशूली नदीमा पुल नै भत्कनेगरी बालुवा, गिटी उत्खनन गरेर चोरी निकासी भइरहेको पनि बताए । नदीजन्य सामाग्रीको चोरी निकासीमा संलग्न गिरोहलाई कुनै पनि सरकारले कारबाही गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए।

पोखरामा चक्कु देखाएर सुन र पैसा लुटपाट गर्ने पक्राउ

0

पोखरा: पोखराको लेकसाइडमा बाटोमा हिंडिरहेकी एक महिलालाई चक्कु देखाएर सुन र पैसा लुटिएको
छ । स्कुटर र मोटरसाइकलमा आएका व्यक्तिहरूले उनको साथबाट २ तोलाको सिक्री र १२ हजार रुपैया र ज्याकेट चोरेका हुन् ।
प्रहरीले तत्कालै घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो । पोखरा १८ का ३७ वर्षीय देवन गुरुङ, १९ वर्षका रुचाल भन्ने हितमान सार्की, तनहुँको ब्यास घर भइ पोखरा ५ बस्ने १८ वर्षका अनिश भट्ट पक्राउ परेका छन् । उनीहरूको साथबाट ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

यस्तै, सिक्री बेचेर बाँकी रहेको रकम १ लाख ३ हजार ५ सय पनि बरामद गरेको छ । उक्त सिक्री पोखरा ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका सञ्चालक नारायण प्रसाद बिक र एसपि मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मालाई पनि नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरू सबैलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

 

स्वास्थ्य बीमाको दायरा बढाउन सम्भव होला ?

0

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा उपचारको रकम पाँच लाख रुपैयाँ पुर्याउने सार्वजनिक प्रतिवद्धता जनाए पनि यसबारे स्वास्थ्य बीमा बोर्ड भने बेखबर छ । बोर्डका एक उच्च अधिकृतले सञ्चार माध्यमबाट बीमामार्फत दिइने उपचार रकमको दायरा बढाउने कुरा सुनिएयो तर यो विषयमा बोर्डमा छलफल नभएको र आधिकारिक रूपमा स्वास्थ्य मन्त्रालयले छलफल पनि नगरेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले बीमा कार्याक्रमको समन्वय गर्न सक्ने तर ऐन–नियमका आधारमा स्वास्थ्य बीमा बोर्ड स्वायत्त संस्था रहेको ती अधिकारीको भनाइ छ ।

आम नागरिकलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न सरकारी निकायबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा उपचार सेवाको रकम एक लाखबाट पाँच लाख पुर्याउने प्रस्ताव स्वास्थ्यमन्त्रीले आइतबार (साउन २७ गते) पत्रकार सम्मेलनमार्फत गरेका थिए ।

स्वास्थ्य बीमा उपचार सेवाको रकम पाँच लाख पुर्याउन नियम कानुन नै संशोधन गर्नुपर्ने बोर्डका अधिकारीले बताए । ‘रकमको दायरा बढाउन बोर्डसँग छलफल गरेर नियम–कानुन नै परिवर्तन गर्नुपर्छ,’ बोर्ड स्रोतले बतायो ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत वार्षिक एक लाखसम्मको निःशुल्क औषधि उपचार गर्न पाइने व्यवस्था छ । जसका लागि ५ जनाको परिवारका लागि वर्षदिनमा ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । पाँच जनाले वार्षिक प्रतिव्यक्ति २० हजार रुपैयाँबाट मात्रै उपचार गराउन पाउने देखिन्छ । यसबाट सामान्य उपचारमात्रै पुग्ने देखिन्छ । जटिल रोगको उपचार सो रकम मार्फत सम्भव देखिँदैन ।

आम नागरिकले बीमामार्फत नै सहज र केही खर्चिलो उपचार गर्न पाउने उद्देश्यले बीमाको उपचार रकमको दायरा एक लाखबाट पाँच लाख पु¥याउने मन्त्री पौडेलको प्राथमिकता तथा कार्ययोजना छ ।

कति छन् स्वास्थ्य बीमामा आवद्ध ?

स्वास्थ्य बीमा बोर्डको पछिल्लो तथ्याङ्क अनुसार २५ लाख ६ हजार ३१२ परिवारका करिब ८१ लाख ४५ हजार ८३१ जना आवद्ध छन् । यसमध्ये सक्रिय नवीकरण सेवा लिने सङ्ख्या करिब ३९ लाख १९ हजार ७०४ जना रहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा नयाँ दर्ता हुने जनसङ्ख्या र नवीकरण गरी गर्ने सङ्ख्या ५२ लाख २६ हजार १५८ जना छ । बीमा कार्यक्रममा आवद्ध भइ सेवा लिएको सङ्ख्या ३८ लाख ६१ हजार ६४ जना रहेको बोर्डको पछिल्लो तथ्याङ्क छ ।

स्वास्थ्य बीमामा अकर्षण घट्दो

पछिल्लो समय सरकारी निकाय अन्तर्गतको स्वास्थ्य बीमा सेवामा आम नागरिकको आकर्षण घट्दै गएको पाइएको छ । स्वेच्छिक सहभागिता भएकाले, सुविधासहज नहुँदा, पहुँच नहुनाले नवीकरण पूर्ण रूपमा हुन नसकेको पाइएको हो । यसले बीमाको दिगोपनमा पनि प्रभाव परेको छ । हाल देशभरका ४ सय ७५ स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपचार गराउन सकिने बोर्डले जनाएको छ ।

 

दलहरू जनचाहना विपरीत चल्नुहुँदैनः अध्यक्ष लिङ्देन

0

लेखनाथ (कास्की): राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरू नेपाली जनताको चाहना विपरीत चल्न नहुने बताउनुभएको छ । केदारेश्वर महादेवमणि सेवा आश्रम पोखराद्वारा मन्दिर परिसरमा आयोजित बोलबम पदयात्रापछिको धार्मिकसभालाई सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक दर्शनभन्दा देश र धर्म ठूलो भएकाले दलहरूले सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने माग उठिरहेका बेला ठूला राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

यसअघि पोखरा–१ स्थित सेती नदी किनार गाईघाटबाट सुरू भएको बोलबम पैदलयात्रा बगर, नदीपुर, महेन्द्रपुल, पृथ्वीचोक, सिमलचौर, रत्नचोक हुँदै केदारेश्वर महादेवमणि मन्दिर परिसरमा पुगेर धार्मिकसभामा परिणत भएको थियो ।

 

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

0

भद्रपुर (झापा): झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।

आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ ।

गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताउनुभयो । “आव २०७९/८० देखि २०८३/८४ सम्म पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत दुई वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि पाँच वर्षमा रु दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ । दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ ।

 

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

0

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी विभागले आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।