७ अर्ब ६० करोड रुपैयाँको ब्रा लगाएर काइली जेनरले गरिन् विक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु

७ अर्ब ६० करोड रुपैयाँको ब्रा लगाएर काइली जेनरले गरिन् विक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु

काठमाडौं । रियालिटी टिभी स्टार तथा सौन्दर्य व्यवसायी काइली जेनरले करिब ५ करोड अमेरिकी डलर (७ अर्ब ६० करोड रुपैयाँ) मूल्यको ब्रा लगाएर विक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन्। उनको प्रस्तुतिले फेसन जगतमा मिश्रित प्रतिक्रिया सिर्जना गरेको छ।

जेनरले आइतबार आयोजित लन्जरी ब्रान्ड विक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा चर्चित ‘फ्यान्टेसी ब्रा’ लगाएर दर्शकको ध्यान खिचेकी थिइन्। डिजाइनरका अनुसार उक्त ब्रा १८ क्यारेट सुन र ४ हजार ४१० वटा हीरा जडान गरेर तयार पारिएको हो।

फ्यान्टेसी ब्रा लामो समयदेखि यस फेसन शोको प्रमुख आकर्षण रहँदै आएको छ। यसलाई लगाउने अवसर पाउनुलाई मोडलका लागि ठूलो सम्मान र करिअरको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ।

२९ वर्षीया जेनरलाई यसका लागि छनोट गरिएपछि केही प्रशंसकले खुसी व्यक्त गरेका छन् भने कतिपयले अनुभवी सुपरमोडललाई अवसर नदिई उनलाई छनोट गरिएको भन्दै ब्रान्डको आलोचना गरेका छन्।

सामाजिक सञ्जाल तथा मार्केटिङ विज्ञ जोएल मार्लिनारसनका अनुसार जेनरको प्रस्तुतिले मोडलिङ र सामाजिक सञ्जालको भविष्यबारे बहस सिर्जना गरेको छ। उनका विचारमा ब्रान्डहरूले अहिले परम्परागत मोडलिङ अनुभवभन्दा पनि कसले धेरै मानिसको ध्यान आकर्षित गर्न सक्छ भन्ने कुरालाई प्राथमिकता दिन थालेका छन्।

बीबीसी न्युजबीटसँग कुरा गर्दै मार्लिनारसनले जेनर सेलिब्रेटी जगतको नयाँ युगको प्रतिनिधित्व गर्ने बताए। उनका अनुसार सामाजिक सञ्जालमा लोकप्रियता र दर्शकसँगको सम्बन्ध अहिले ब्रान्डका लागि महत्त्वपूर्ण बनेको छ।

उनले युवा दर्शकसँग जेनरको भावनात्मक सम्बन्ध रहेको बताए। सामाजिक सञ्जाल र कार्दशियन परिवारको रियालिटी शो हेर्दै हुर्किएका दर्शकका लागि जेनर परिचित व्यक्तित्व हुन्।

तर, परम्परागत सुपरमोडलको युग सम्झिने दर्शकले जेनरलाई यो अवसर दिनुलाई निराशाजनक रूपमा लिन सक्ने उनको भनाइ छ।

मार्लिनारसनका अनुसार विक्टोरियाज सिक्रेटजस्ता स्थापित ब्रान्डले चर्चा कमाउन र दर्शकको ध्यान आकर्षित गर्न सक्ने व्यक्तित्वलाई प्राथमिकता दिन थालेका छन्।

विक्टोरियाज सिक्रेटको इन्स्टाग्राममा सार्वजनिक गरिएको भिडियोमा केही प्रशंसकले जेनरको आकर्षक पहिरन र प्रस्तुतिको प्रशंसा गरेका छन्। तर, अन्यले उनलाई छनोट गरिएको विषयमा प्रश्न उठाउँदै यसलाई अनुभवी मोडलप्रतिको अन्याय भनेका छन्।

एक प्रयोगकर्ताले फेसन शो परम्परागत ग्ल्यामरबाट सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूको प्रदर्शनतर्फ मोडिएको टिप्पणी गरेका छन्। उनका अनुसार सामाजिक सञ्जालको प्रभाव र देखावटी समावेशिताले वास्तविक मोडलिङ प्रतिभा, शालीनता र ¥याम्पमा प्रस्तुत हुने क्षमतालाई ओझेलमा पार्न सक्छ।

विक्टोरियाज सिक्रेटका मुख्य क्रिएटिभ अफिसर एडम सेलम्यानले ‘भोग’ म्यागजिनसँग कुरा गर्दै जेनरलाई उनको सांस्कृतिक प्रभावका कारण छनोट गरिएको बताएका छन्।

उनका अनुसार जेनरको प्रभाव फेसन, संस्कृति र टेलिभिजनमा मात्र सीमित छैन। उनले फेसन शो मनोरञ्जनको ठूलो कार्यक्रम भएकाले जेनरको उपस्थिति यसका लागि उपयुक्त हुने बताए।

बेलायती मोडल समर नेस्बेथले पनि जेनरको छनोटलाई युवा दर्शकसँग सम्बन्ध कायम राख्ने ब्रान्डको प्रयासका रूपमा व्याख्या गरेकी छन्। न्युयोर्क फेसन विकमा ¥याम्पमा हिँडिसकेकी २५ वर्षीया नेस्बेथका अनुसार जेनर सामाजिक सञ्जालको युगमा ठूलो प्रभाव राख्ने व्यक्तित्व हुन्।

विक्टोरियाज सिक्रेटको फेसन शो सन् २०१८ मा न्यून दर्शक सङ्ख्या, लैङ्गिक विभेद, पुरातन सोच र विविधताको अभावसम्बन्धी आलोचनापछि रोकिएको थियो। सन् २०२४ मा सबै महिलाको सम्मान गर्ने प्रतिबद्धतासहित शो पुनः सुरु गरिएको थियो। त्यसबेला प्लस-साइज मोडल एशली ग्राहमसहित विविध पृष्ठभूमिका मोडललाई सहभागी गराइएको थियो।

यस वर्षको फ्यान्टेसी ब्रा गहना निर्माता ब्रान्ड ‘जेकब एन्ड कम्पनी’ सँगको सहकार्यमा तयार पारिएको हो। उक्त ब्रा अहिलेसम्मकै सबैभन्दा मूल्यवान् भएको बताइएको छ। यसलाई तयार पार्न १५ जना कारीगरले एक हजार घण्टाभन्दा बढी समय लगाएका थिए।

यद्यपि, मोडल नेस्बेथले ब्राको मूल्य र त्यसमा केन्द्रित ध्यानप्रति प्रश्न उठाएकी छन्। उनका अनुसार संसारका धेरै मानिसले खानाका लागि आवश्यक सामग्री जुटाउन र घरको बिजुलीको बिल तिर्नसमेत सङ्घर्ष गरिरहेका बेला यति ठूलो रकमको पहिरनमा ध्यान केन्द्रित गर्नु विचारणीय विषय हो।

“मानिसहरूसँग खानका लागि अन्न छैन, मानिसहरू आफ्ना घरको बिजुलीको बिल तिर्न सक्दैनन्,” उनले भनिन्।

उनले मानिसहरूले आफ्नो ध्यान कहाँ केन्द्रित गरिरहेका छन् र पैसा कहाँ खर्च गरिरहेका छन् भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!