काठमाडौं । दक्षिण कोरियाले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज स्ट्रेट आसपासको समुद्री सुरक्षाका लागि गस्ती विमान र बम डिस्पोजल विशेषज्ञहरूको टोली परिचालन गर्ने तयारी गरेको छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार समुद्री मार्गको सुरक्षा तथा सम्भावित जोखिमको निगरानी गर्न यस क्षेत्रमा समुद्री गस्ती विमान तैनाथ गरिनेछ। साथै, समुद्रमा रहेका विस्फोटक पदार्थ निष्क्रिय पार्न विशेषज्ञ टोलीसमेत परिचालन गरिनेछ।
समुद्री गस्ती विमानले उक्त क्षेत्रमा नियमित निगरानी गर्दै सम्भावित सुरक्षा चुनौती पहिचान गर्न सहयोग गर्नेछन्। त्यस्तै, बम डिस्पोजल विशेषज्ञ टोलीले समुद्रमा हुन सक्ने विस्फोटकजन्य जोखिम व्यवस्थापनमा प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
होर्मुज स्ट्रेट विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। यसले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ। विश्वव्यापी ऊर्जा आपूर्ति तथा समुद्री व्यापारका दृष्टिले यस जलमार्गको विशेष रणनीतिक महत्त्व छ।
यस क्षेत्रमा उत्पन्न हुने कुनै पनि सुरक्षा अवरोधले अन्तर्राष्ट्रिय व्यापार र विश्व बजारमा तेलको आपूर्तिमा असर पार्न सक्छ। दक्षिण कोरियाको प्रस्तावित मिसनलाई उक्त रणनीतिक जलमार्गको सुरक्षा र आवागमन सहज बनाउने प्रयासका रूपमा हेरिएको छ।