काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले पुनः ठूलो आक्रमणको योजना बनाइरहेको आशङ्का व्यक्त गर्दै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएका छन्।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको वक्तव्यअनुसार नेतान्याहूले रक्षामन्त्री, इजरायली सेनाका प्रमुख, आन्तरिक सुरक्षा एजेन्सीका निर्देशक, राष्ट्रिय सुरक्षा सल्लाहकार र सेन्ट्रल कमान्डका कमान्डरसँग सुरक्षा अवस्थाबारे समीक्षा गरेका थिए।
वक्तव्यमा हमासका लडाकुहरूले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो आक्रमणको तयारी गरिरहेको सङ्केत देखिएको उल्लेख छ। घटनास्थलमा ठूलो परिमाणमा हतियार तथा गोलाबारुद फेला पर्नुले यस्तो आशङ्का बढाएको इजरायली पक्षको दाबी छ।
नेतान्याहूले इजरायली सैनिकहरूले सम्भावित आक्रमण विफल पारेको दाबी गर्दै उनीहरूको कारबाहीको प्रशंसा गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
उनले इजरायली सेना र सुरक्षा निकायलाई हेब्रोन सहर तत्काल घेराबन्दी गर्न तथा यहूदिया र सामरियाबाट हुन सक्ने आक्रमण रोक्न थप सुरक्षा उपाय अपनाउन निर्देशन दिएको बताएका छन्।
नेतान्याहूका अनुसार सुरक्षा बलले थप सैनिक परिचालन गरी अभियान सञ्चालन गरिरहेका छन् र ठूलो सङ्ख्यामा मानिसहरूलाई पक्राउ गरिरहेका छन्। उनले आक्रमणमा संलग्न व्यक्ति तथा उनीहरूलाई परिचालन गर्नेहरूलाई जहाँ भए पनि पछ्याउने चेतावनी दिएका छन्।
यसैबीच, इजरायली अधिकारीहरूका अनुसार कब्जा गरिएको वेस्ट बैंकमा भएको गोलीकाण्डमा पाँच जना इजरायली घाइते भएका छन्। घटनामा प्यालेस्टिनी आक्रमणकारी भएको आशङ्का गरिएका दुई जनालाई इजरायली सुरक्षा बलले मारेको जनाइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट भिडियोमा हेब्रोन सहरको प्रवेशद्वारमा रहेको सैन्य जाँच चौकीमा सैनिक र बन्दुकधारीबीच गोली हानाहान भएको देखिन्छ। यद्यपि, भिडियोको स्वतन्त्र पुष्टि भएको विवरण उपलब्ध छैन।
यो घटना वेस्ट बैंकमा बढ्दो तनावका बीच भएको हो। जैतुनको वार्षिक फसल काट्ने समयमा चरमपन्थी यहुदी बस्तीका बासिन्दाले प्यालेस्टिनीहरूलाई निशाना बनाएको आरोपसमेत लाग्दै आएको छ।
यसैबीच, इजरायलमा चार दिनपछि आमनिर्वाचन हुन लागेको छ। सुरक्षा तनाव र निर्वाचनको समय नजिकिँदै गर्दा क्षेत्रको राजनीतिक तथा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।