काठमाडौँ । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासका गैरआवश्यक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई साउदी अरब छाड्न आदेश दिएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले सामाजिक सञ्जाल ‘एक्स’मार्फत साउदी अरबमा रहेका गैरआकस्मिक अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई फिर्ता बोलाइएको पुष्टि गरेका छन्।
उनका अनुसार हुथी विद्रोहीहरूले साउदी अरबका नागरिक विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएका छन्। ती आक्रमणबाट सर्वसाधारणको ज्यान जानुका साथै हवाई यात्रा र अन्य आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको छ।
बढ्दो सुरक्षा जोखिमका कारण अमेरिकाले साउदी अरबमा आफ्नो कूटनीतिक उपस्थिति घटाइरहेको छ । क्षेत्रका अन्य अमेरिकी कूटनीतिक नियोगहरूले पनि हुथी विद्रोहीबाट हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै कर्मचारी व्यवस्थापनमा फेरबदल गरिरहेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार सुरक्षा सतर्कता जारी गर्दै साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई विमानस्थलमा हुन सक्ने सम्भावित आक्रमण र यात्रामा उत्पन्न हुन सक्ने अवरोधबारे सचेत रहन आग्रह गरेको छ । पछिल्ला साताहरूमा हुथी विद्रोहीहरूले रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, साउदी सैन्य प्रतिष्ठान, तेल पूर्वाधार तथा सामुद्रिक मार्गलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।
नयाँ निर्देशनअनुसार साउदी अरबमा कार्यरत अमेरिकी सरकारी कर्मचारीहरूले हालैका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि त्यहाँका विमानस्थल प्रयोग गर्न नियोग प्रमुखबाट विशेष अनुमति लिनुपर्नेछ ।
यसैबीच, बुधबार साउदी अरबले कम्तीमा सातवटा ड्रोन निष्क्रिय पारेको जनाएको छ । पूर्वी प्रान्तस्थित शायबाह तेल क्षेत्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा दुई विदेशी कामदारको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा रहेका साउदी पक्षधर फौजले विभिन्न मोर्चामा हुथी विद्रोहीविरुद्ध कारबाही विस्तार गरेका छन् भने साउदी वायुसेनाले हवाई सुरक्षा प्रदान गरिरहेको छ । अमेरिकाले पनि गुप्तचरी तथा सूचना आदानप्रदानमार्फत साउदी अरबलाई सैन्य सहयोग बढाएको छ । यद्यपि, साउदी अरबले हुथीविरुद्ध थप आक्रामक सैन्य सहयोग मागे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म हुथीविरुद्ध प्रत्यक्ष सैन्य आक्रमण गर्ने निर्णय गरेका छैनन् ।
साउदी अरबमाथि आक्रमण बढ्दै गएपछि उसका अन्य सहयोगी राष्ट्रहरूले पनि समर्थन बढाएका छन् । बेलायतले हुथी आक्रमणबाट साउदी अरबको रक्षा गर्न लडाकु विमान तैनाथ गर्ने जनाएको छ भने इजिप्टले पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।