काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो स्वास्थ्यबारे प्रश्न गर्ने एक पत्रकारमाथि आक्रोशित भएका छन्। उनले समाचार संस्था ‘रोयटर्स’ का पत्रकारको शारीरिक बनावट र रूपरङ्गमाथि व्यक्तिगत टिप्पणी गर्दै आफ्नो फिटनेस सुधार्न सुझाव दिएका छन्। ट्रम्पले पत्रकारलाई ‘घिनलाग्दो’ समेत भनेका छन्।
बिहीबार पत्रकारहरूसँगको कुराकानीका क्रममा यो घटना भएको हो। ट्रम्पले कान्सास र आयोवामा आयोजना गर्ने तय भएका चुनावी र्यालीहरू रद्द गरेपछि एक पत्रकारले त्यसको कारण उनको स्वास्थ्य अवस्था त होइन भन्ने प्रश्न गरेका थिए। यही प्रश्नपछि ट्रम्प आक्रोशित बनेका थिए।
पत्रकारले देशव्यापी रूपमा कैयौँ सातासम्म चुनावी प्रचारमा सक्रिय रहेपछि आफ्नो स्वास्थ्य ठीक छ कि छैन भनेर सोधेका थिए। जवाफमा ट्रम्पले यस्तो प्रश्न गर्ने व्यक्ति आफैँ बिरामी रहेको टिप्पणी गरे। पत्रकारले आफू रोयटर्सबाट आएको बताएपछि ट्रम्पले उक्त समाचार संस्थालाई समेत खराब भएको आरोप लगाए।
पत्रकारले आफूले राष्ट्रपतिको स्वास्थ्यबारे मात्रै जिज्ञासा राखेको स्पष्ट पार्न खोजे पनि ट्रम्पले प्रश्नको जवाफ दिनुको सट्टा उनको शारीरिक बनावटमाथि टिप्पणी गर्न थाले। उनले पत्रकारको नक्कल गर्दै भने, ‘यो मान्छेलाई हेर्नुहोस्। यो बिल्कुलै फिट छैन।’
पत्रकारले पुनः स्वास्थ्यबारे प्रश्न गरेपछि ट्रम्पले आफ्नो अवस्था राम्रो रहेको दाबी गरे। उनले भने, ‘मैले दुई हप्तादेखि आफ्नो ख्याल गरिरहेको छु। म एकदमै ठीक महसुस गरिरहेको छु।’
त्यसपछि ट्रम्पले पत्रकारलाई लक्षित गर्दै भने, ‘तिमी घिनलाग्दो छौ। आफ्नो फिटनेस सुधार्नुपर्छ। तिमी धेरै नराम्रो देखिन्छौ।’
यो घटना ट्रम्पले कान्सास र आयोवामा तय भएका चुनावी र्यालीहरू रद्द गरेको समयमा भएको हो। दुवै राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवारहरूले कडा चुनावी प्रतिस्पर्धाको सामना गरिरहेका छन्। अमेरिकामा मंगलबार मध्यावधि निर्वाचन हुँदैछ।
ट्रम्पको पहिलो र्याली शनिबार कान्सासको सालिनामा र दोस्रो आइतबार आयोवाको डब्यूकमा आयोजना गर्ने तय भएको थियो। तर, ट्रम्पले पत्रकारहरूसँग आफूलाई कान्सास जानुपर्ने आवश्यकता नरहेको बताएका थिए। उनले उक्त राज्यमा रिपब्लिकन सिनेटर रोजर मार्सलको जितप्रति विश्वाससमेत व्यक्त गरेका थिए। त्यसपछि रिपब्लिकन नेसनल कमिटीले आयोवाको र्याली पनि रद्द गरिएको जानकारी दिएको थियो।
प्रत्यक्ष र्यालीमा सहभागी हुनुको सट्टा ट्रम्पको चुनावी आर्थिक सहयोगसँग जोडिएको संस्था ‘मागा इन्क’ (MAGA Inc) ले टेलि-र्यालीको शृङ्खला आयोजना गर्ने जनाएको छ। यसअन्तर्गत ट्रम्प कम्तीमा १९ राज्यका मतदातासँग अनलाइन वा दूरसञ्चार माध्यमबाट जोडिनेछन्। कान्सास र आयोवा पनि यसमा समावेश छन्।
अक्टोबर १ यता ट्रम्पले १९ राज्यमा २५ वटा चुनावी र्याली गरिसकेका छन्। ती कार्यक्रममार्फत उनले रिपब्लिकन पार्टीका उम्मेदवारहरूको पक्षमा प्रचार गर्दै आएका थिए।
आगामी मध्यावधि निर्वाचनले रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्समा आफ्नो झिनो बहुमत कायम राख्न सक्छ कि सक्दैन भन्ने निर्धारण गर्नेछ। कान्सास र आयोवाका कार्यक्रम रद्द गरे पनि ट्रम्प शुक्रबार अन्य चुनावी कार्यक्रमका लागि फ्लोरिडा जान सक्ने बताइएको छ।
यसअघि पनि ट्रम्पले चुनावी प्रचारको व्यस्त तालिकाका कारण हुने शारीरिक थकानबारे सार्वजनिक रूपमा बताएका थिए। सोमबार मिसिसिपीमा आयोजित एक र्यालीका क्रममा उनले भगवानले मानिसको स्वर हरेक दिन चुनावी र्याली गर्न सक्ने गरी नबनाएको टिप्पणी गरेका थिए।