सरकारले समायोजन गर्‍यो सार्वजनिक सवारीको भाडादर, डिलक्समा २० प्रतिशत थप शुल्क

सरकारले समायोजन गर्‍यो सार्वजनिक सवारीको भाडादर, डिलक्समा २० प्रतिशत थप शुल्क

काठमाडौँ । सरकारले अन्तरप्रदेशीय छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो।

विभागका अनुसार तराई तथा पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारीसाधनको प्रतिकिलोमिटर भाडादर परिमार्जन गरिएको छ। तराईको लामो दूरी (२५० किलोमिटरभन्दा बढी) को पक्की तथा ग्राभेल सडकमा प्रतिव्यक्ति प्रतिकिलोमिटर २ रुपैयाँ ९३ पैसा भाडा कायम गरिएको छ। त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा निर्धारण गरिएको छ।

काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ सडकखण्डमा भने प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ २४ पैसा भाडा कायम गरिएको विभागले जनाएको छ।

डिलक्समा २० र सुपर डिलक्समा थप २० प्रतिशत शुल्क

विभागका अनुसार डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारीसाधनले सामान्य भाडादरमा २० प्रतिशत थप रकम लिन सक्नेछन्। त्यस्तै, सुपर डिलक्स सुविधा लिएका सवारीसाधनले डिलक्सको भाडादरमा थप २० प्रतिशत रकम जोडेर लिन पाउने व्यवस्था गरिएको छ।

विद्यार्थी र ज्येष्ठ नागरिकलाई अनिवार्य सहुलियत

विभागले जारी गरेको आचारसंहिताअनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई तोकिएको दरमा अनिवार्य सहुलियत दिनुपर्नेछ। यस्तो सहुलियत निश्चित रुट, कोटा वा दिनमा सीमित नगरी नियमित रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। सहुलियत लिन यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ।

त्यसैगरी, लामो दूरीका रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ। चालक र सहचालकले परिचयपत्र वा तोकिएको पोसाक लगाउनुपर्नेछ।

तोकिएको भन्दा बढी भाडा लिने सवारीसाधनमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ। बढी भाडा लिएको अवस्थामा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन्।

मालवाहक सवारीको भाडादर पनि समायोजन

यात्रुवाहक सवारीसँगै मालवाहक ट्रकको भाडादर पनि समायोजन गरिएको छ। नयाँ दरअनुसार तराईमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन १४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। १० टन क्षमतालाई आधार मानेर विभागले विभिन्न रुटको भाडादरसमेत निर्धारण गरेको छ।

निर्धारित दरअनुसार वीरगञ्ज–काठमाडौँ सडकखण्डमा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौँ सडकखण्डमा ३२ हजार १४१ रुपैयाँ कायम गरिएको छ।

 

 

लिङ्क सफलतापूर्वक कापि गरियो!