स्पेनमा दुई हाई-स्पीड रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

स्पेनमा दुई हाई-स्पीड रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । स्पेनमा दुईवटा हाई-स्पीड रेल आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । स्पेनी सञ्चारमाध्यमहरूले क्षेत्रीय सरकारलाई उद्धृत गर्दै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको जनाएका छन् । दुर्घटनामा हताहत हुनेको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

बीबीसीका संवाददाता गाय हेजकोटका अनुसार दुर्घटनामा भएको मानवीय क्षतिको वास्तविक विवरण अझै स्पष्ट भइसकेको छैन । समाचार संस्था एएफपी, रोयटर्स र स्पेनी सञ्चारमाध्यम एल पाइसले पनि मृतकको सङ्ख्या ३० पुगेको उल्लेख गरेका छन् ।

दुर्घटना स्पेनको राजधानी म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने उर्दा सहरनजिक भएको बताइएको छ । म्याड्रिडबाट दक्षिणतर्फ गइरहेको एउटा हाई-स्पीड रेल सोही मार्गमा रोकिएको अर्को रेलसँग ठोक्किएको प्रारम्भिक विवरणमा उल्लेख छ । ठक्करका कारण कम्तीमा दुईवटा रेलका डिब्बा लिकबाट बाहिरिएका छन् ।

दुर्घटनापछि घटनास्थलमा दमकलकर्मी, स्वास्थ्यकर्मी तथा अन्य आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ । घाइतेको उद्धार र दुर्घटनाग्रस्त डिब्बाबाट शव निकाल्ने कार्य जारी रहेको छ । उद्धारका लागि तीनवटा हेलिकप्टरसमेत प्रयोग गरिएको जनाइएको छ ।

दुर्घटनामा परेका एक यात्रुले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार रेल यात्रा सुरु भएको करिब ४० मिनेटपछि अचानक ठूलो झट्का लागेको थियो । त्यसपछि शक्तिशाली ठक्करको आवाज सुनिएको उनले बताएका छन् ।

सिग्नल प्रणालीको त्रुटिको आशङ्का

प्रारम्भिक विवरणमा सिग्नल प्रणालीमा मानवीय त्रुटि भएको हुन सक्ने आशङ्का व्यक्त गरिएको छ । यद्यपि, दुर्घटनाको वास्तविक कारणबारे आधिकारिक अनुसन्धानबाट मात्रै निष्कर्ष निस्कनेछ ।

रेल पूर्वाधार सञ्चालक कम्पनी एडिफका अनुसार दुर्घटना रेल सेवा सञ्चालक रेनफेको एउटा रेल र इर्यो कम्पनीको अर्को रेलबीच भएको हो । इर्योले म्याड्रिड र सेभियाबीच रेल सेवा सञ्चालन गर्दै आएको छ ।

एडिफले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनापछि उक्त मार्गमा सञ्चालन हुने रेलहरूलाई विभिन्न स्टेसनमा रोकिएको जानकारी दिएको छ । यसबाट रेल सेवामा समेत अवरोध उत्पन्न भएको छ ।

यसैबीच, रेनफेले दुर्घटनामा परेका यात्रुका परिवारजनलाई जानकारी तथा सहयोग उपलब्ध गराउन विशेष हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजन तथा घाइतेप्रति समवेदना प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले घटनाबारे यातायात मन्त्री र कास्तिया–ला मञ्चा क्षेत्रका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । प्रभावितहरूलाई सहयोग गर्न र उद्धार कार्य प्रभावकारी बनाउन सम्बन्धित प्रशासनिक निकायहरू समन्वयमा परिचालित रहेको पनि उनले उल्लेख गरेका छन् ।

दुर्घटनापछि प्रधानमन्त्री साञ्चेजलगायत स्पेनका शीर्ष नेताहरूले बुधबारका निर्धारित सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । रद्द गरिएका कार्यक्रममध्ये आगामी संसदीय निर्वाचनसँग सम्बन्धित प्रचारप्रसारका कार्यक्रमसमेत रहेको बताइएको छ ।

दुर्घटनाको गम्भीरतालाई ध्यानमा राख्दै संसद्का निर्धारित कार्यक्रमसमेत स्थगित गरिएको विवरण सार्वजनिक भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ भने उद्धारकर्मीहरू प्रभावित यात्रुको खोजी तथा घाइतेको उपचारमा जुटिरहेका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!