सुडान–मिस्र–लिबिया सीमा नजिकै सुन खानीमा हवाई आक्रमण, १३ मजदुरको मृत्यु

सुडान–मिस्र–लिबिया सीमा नजिकै सुन खानीमा हवाई आक्रमण, १३ मजदुरको मृत्यु

काठमाडौं । सुडान, मिस्र र लिबियाको त्रिदेशीय सीमा नजिकै रहेको सुन खानीमा शनिबार भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जना मजदुरको मृत्यु भएको छ भने २८ जना गम्भीर घाइते भएका छन्।

सुडानको द्वन्द्व र स्वास्थ्य अवस्थाको अनुगमन गर्दै आएको संस्था ‘सुडान डाक्टर्स नेटवर्क’ ले आइतबार घटनाबारे जानकारी दिएको हो।

आक्रमणबाट जोगिएका अब्देल-अजीज युसुफका अनुसार शनिबार बिहान पहाडी क्षेत्रमा रहेको सानो सुन खानीमा अज्ञात लडाकु विमानले अचानक बमबारी गरेको थियो। आक्रमणपछि पुनः बमबारी हुन सक्ने डरले मजदुरहरू ज्यान जोगाउन भागेका थिए।

‘एसोसिएटेड प्रेस’का अनुसार भौगोलिक रूपमा विकट क्षेत्रमा रहेको खानीमा स्वास्थ्य सुविधाको पहुँच सीमित भएकाले घाइतेहरूको उपचारमा कठिनाइ भइरहेको छ। यसका कारण मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। आक्रमण कसले गराएको हो भन्नेबारे भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। सम्भावित पक्षमा मिस्रको सेना, सुडानी सेना र अर्धसैनिक बल ‘र्‍यापिड सपोर्ट फोर्सेज’ (आरएसएफ) रहेका छन्।

सुडान डाक्टर्स नेटवर्कका अनुसार मिस्रका अधिकारीहरूले सीमा क्षेत्रमा अवैध रूपमा सुन उत्खनन गरिरहेका मजदुरहरूलाई त्यहाँबाट हट्न पटक–पटक चेतावनी दिएका थिए। आक्रमण भएको क्षेत्र मिस्रको क्षेत्राधिकारभित्र पर्ने बताइएको छ। यसअघि गत जुन महिनामा पनि मिस्रका सुरक्षा बलले सीमा नजिकै गैरकानुनी सुन उत्खनन र तस्करीमा संलग्न रहेको आरोपमा सयौँ विदेशी नागरिकलाई नियन्त्रणमा लिएका थिए।

सुडानमा जारी गृहयुद्धका क्रममा सुन द्वन्द्वको प्रमुख आर्थिक स्रोत बनेको छ। आरएसएफले दारफुर र कोर्डोफान क्षेत्रका सुन खानीबाट अवैध रूपमा सुन बाहिर पठाएर आफ्नो सैन्य अभियानका लागि रकम जुटाउँदै आएको आरोप छ।

संयुक्त राष्ट्रसङ्घको सन् २०२४ को प्रतिवेदनअनुसार सुडानमा उत्खनन हुने ५० प्रतिशतभन्दा बढी सुन अवैध रूपमा तस्करी गरी विदेश पठाइने गरिन्छ। यसले त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षा निगरानी तथा अवैध व्यापार नियन्त्रणमा चुनौती थपेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!