रियाद । साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार पुनः आक्रमण हुँदा एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। आक्रमणका कारण विमानस्थलको टर्मिनल ४ मा आगलागी भएको साउदी अधिकारीहरूले जनाएका छन्।
साउदी अरेबियाको नागरिक उड्डयन सामान्य प्राधिकरणका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। अधिकारीहरूले विमानस्थलका संरचनामा पुगेको क्षतिको मूल्यांकन गरिरहेका छन्। यसअघि आइतबार नै साउदी हवाई रक्षा प्रणालीले विमानस्थल नजिकै आइरहेको एउटा क्रुज क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको थियो।
शनिबार भएको क्षेप्यास्त्र आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै ३०९ जना घाइते भएका थिए। मृतकमा चार साउदी, दुई बङ्गलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना नागरिक थिए। रियादस्थित भारतीय दूतावासका अनुसार उक्त आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको पनि उपचारका क्रममा मृत्यु भएको छ।
शनिबारको आक्रमणपछि विमानस्थल आइतबार अबेरसम्म बन्द गर्नुपरेको थियो, जसका कारण ६०० भन्दा बढी उडान रद्द भएका थिए। पछिल्ला दिनमा विमानस्थलमा भएका शृङ्खलाबद्ध आक्रमणले साउदी अरेबियाको हवाई सुरक्षामाथि गम्भीर चुनौती खडा गरेको छ।
यमनका हुथी विद्रोहीहरूले पछिल्ला आक्रमणको जिम्मेवारी लिएका छन्। उनीहरूका अनुसार यमनमा साउदी नेतृत्वको गठबन्धनले तीव्र बनाएको हवाई हमलाको जवाफमा साउदीका विमानस्थल तथा अन्य पूर्वाधारलाई निशाना बनाइएको हो। हुथी नियन्त्रित सशस्त्र बलले पछिल्लो २४ घण्टामा साउदी युद्धक विमानहरूले १२४ पटक हवाई हमला गरेको आरोप लगाउँदै थप आक्रमण जारी राख्ने चेतावनी दिएको छ।
हुथीहरूले दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई पनि निशाना बनाएको दाबी गरेका छन्। साउदी नागरिक उड्डयन सामान्य प्राधिकरणले आइतबार साँझ उक्त विमानस्थलमा समेत आक्रमण भएको पुष्टि गर्दै क्षतिको मूल्यांकन र सुरक्षा जाँच भइरहेको जनाएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाले सञ्चालन गर्ने सैन्य कारबाहीमा अमेरिका सहभागी हुन सक्ने बताएका छन्। शनिबारको आक्रमणपछि साउदी युवराज मोहम्मद बिन सल्मानसँग कुरा गर्ने योजना रहेको उल्लेख गर्दै ट्रम्पले अमेरिकी सहभागिताबारे निर्णय गरिने बताएका हुन्।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामी सहभागी हुन सक्छौँ। हामी यसबारे विचार गरिरहेका छौँ।” उनले पछिल्लो आक्रमणबारे जानकारी प्राप्त भएको र अमेरिकाले छिट्टै निर्णय लिने पनि बताए।
यसअघि ट्रम्पले हुथीविरुद्ध प्रत्यक्ष सैन्य कारबाहीमा सहभागी हुन साउदी युवराजले गरेका अनुरोध अस्वीकार गरेको सीएनएनले जनाएको थियो। पछिल्लो घटनापछि भने अमेरिकी प्रशासनको नीतिमा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्दै निर्दोष नागरिकको जीवनप्रति चरम उपेक्षा गरिएको भन्दै घटनाको भर्त्सना गरेका छन्। रियादस्थित अमेरिकी दूतावासले पनि मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समेत आक्रमणको निन्दा गरेका छन्। उनले सर्वसाधारण र नागरिक पूर्वाधारमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताएका छन्। यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले पनि पछिल्ला घटनाले क्षेत्रीय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको बताएका छन्।
यमनमा पुनः चर्कियो द्वन्द्व
वर्षौँको सापेक्षिक शान्तिपछि यमनको गृहयुद्ध पुनः चर्किएको छ। साउदी अरेबियाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरुद्ध सैन्य अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो समय हुथीहरूले साउदीका तेल प्रशोधन केन्द्र, विमानस्थल र अन्य पूर्वाधारलाई निशाना बनाउने अभियान तीव्र पारेका छन्।
हुथीहरूले रातो सागर क्षेत्रमा साउदी जहाजहरूलाई निशाना बनाउने घोषणा गर्नुका साथै यमनको तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेको दाबी गरेका छन्। उता, साउदी समर्थित यमनी सरकारी फौजले गुमेका भूभाग फिर्ता लिन सैन्य कारबाही अघि बढाइरहेको छ।
विश्लेषकहरूका अनुसार साउदी अरेबियाले विगत ११ वर्षदेखि सैन्य कारबाही र कूटनीतिक वार्तामार्फत यमनको द्वन्द्व नियन्त्रण गर्ने प्रयास गरे पनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन। हुथीहरूको क्षेप्यास्त्र तथा ड्रोन क्षमता र यमनभित्रका विभाजित सशस्त्र समूहका कारण साउदीका लागि सुरक्षा चुनौती थप जटिल बनेको छ।
पछिल्लो तनावले अन्तर्राष्ट्रिय व्यापार र पर्यटनको केन्द्र बन्ने साउदी अरेबियाको योजनामा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ। अमेरिका, बेलायत, स्पेन र क्यानडालगायतका देशहरूले आफ्ना नागरिकलाई रियादस्थित विमानस्थल प्रयोग नगर्न सचेत गराएका छन्।